११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब ९३ करोड रेमिट्यान्स

काठमाडौँ– चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) आप्रवाह भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको विवरण अनुसार, विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भएको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो। जेठ महिनाको विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा सो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ। अघिल्लो वर्ष सोही किसिमको आप्रवाह १५.२ प्रतिशतले वृद्धि भएको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख आठ हजार ६७ रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा उक्त संख्या क्रमशः चार लाख २१ हजार ३५६ र दुई लाख ६१ हजार २१० थियो।