
नेपालका चार प्रमुख धाममध्ये एक बराहक्षेत्र सुनसरी जिल्लामा कोका र कोसी नदीको संगममा अवस्थित छ। विष्णुको बराह अवतारसँग जोडिएको यो स्थल धार्मिक दृष्टिले मात्र होइन, सांस्कृतिक र पर्यटकीय रूपमा पनि निकै महत्त्वपूर्ण मानिन्छ।

बराहक्षेत्रमा स्नान र श्राद्ध गर्नाले पितृ उद्धार हुने विश्वास रहिआएको छ। साउन महिनामा लाग्ने बोलबम मेलामा हजारौं तीर्थालुहरू कोका–कोसीको जल अर्पण गर्दै पिण्डेश्वर पुग्छन्। यही यात्रामा बराहक्षेत्र, पिण्डेश्वर र चतराधाम एकसाथ घुम्न सकिन्छ।
धराननजिकै रहेको चतराधामलाई नेपालका प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले ‘प्राचीन हरिद्वार’का रूपमा चिनाएका थिए। यहाँको ५९ फिट अग्लो कुम्भ स्तम्भ, ओलिया मठ, राधा सर्वेश्वर मन्दिर, शिव मन्दिर र हवन कुण्ड आज पनि श्रद्धालु र पर्यटकलाई आकर्षित गर्छन्।

बराहक्षेत्रमा कात्तिकदेखि माघसम्मको समय विशेष रमाइलो हुन्छ। विशेषगरी कात्तिकको हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला यहाँको प्रमुख आकर्षण हो।
पुग्ने बाटो
काठमाडौंबाट धरान करिब ५५० किमी दूरीमा पर्छ। बसमार्फत करिब १३ घण्टा लाग्छ भने हवाईमार्गबाट काठमाडौं–विराटनगर ३५ मिनेट उडेर, विराटनगरदेखि धरान ४० किमी सवारीमा पुगिन्छ। धरानबाट चतरा हुँदै बराहक्षेत्र करिब २४ किमी मात्र हो।
बराहक्षेत्रमा गएर श्रद्धा मात्र होइन, स्थानीय संस्कृतिको स्वाद, यहाँको जीवनशैली र सम्भावित होमस्टे पर्यटनको अनुभव लिन सकिन्छ। यही कारण बराहक्षेत्र धार्मिक यात्रासँगै ग्रामीण पर्यटनको केन्द्र बन्न सक्ने सम्भावना बोकेको छ।तस्विरःअमृत भादगाँउले