Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

कृषि र हाटबजार

बुकीपाटन र पर्यटक लोभ्याउने भेडीगोठ

बुकीपाटन र पर्यटक लोभ्याउने भेडीगोठ

Show us Love

ढोरपाटन– बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृंखला। चारैतिर हरियाली पहाड। त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान। छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ। जहाँ केही थान दुःख, केही थान खुसी र केही थान आशा बोकेर बसेका गोठाला भेटिन्छन् र उनीहरूसँगै भेटिन्छन् भर्खरै जन्मिएरका भेडाका पाठा। जसले लेकाली जनजीवनलाई छर्लंग पार्छ। समथर चौरमा चर्दै गरेका भेडाले धेरैलाई आकर्षित गरेको छ। 

हिजोआज त्यही भेडीगोठ र भेडाका बथान हेर्ने  बुकीपाटन पर्यटक बढ्दै छन्। हजारौँ भेडा र सयौँ गोठालको बासस्थन बनेको बुकीपाटन अब पर्यटक घुम्ने ठाउँका रूपमा पनि विकास हुँदै छ। बुकीपाटनमा घाँस पलाएर हरियाली बनेको छ। त्यही हरियालीमा सेताम्मे भेडाका बथाले बुकीपाटनको सुन्दरतालाई बढाएको छ। पाँच वर्ष अगाडिसम्म बुकीपाटन भेडा गोठालाका लागि मात्रै प्यारो थियो। तर अहिले प्राकृतिक सुन्दरतासँग रम्नेका लागि अझ बढी प्रिय बनेको छ।

भेडाका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन्। ढोरपाटन उपत्यका पुग्ने जो कोही पर्यटक बुकीपाटन सहजै पुग्न सक्दैन। उच्च पहाडी क्षेत्र रहेको हुँदा लेक लाग्ने सम्भावना बढी हुन्छ। पछिल्लो दुई वर्षयता बुकीपाटन पुग्ने पर्यटक र पत्रकारले त्यहाँको दृश्य सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न थालेपछि ढोरपाटन उपत्यका पुग्ने पर्यटकले बुकीपाटनको यात्रा तय गर्ने छन्। बुकीपाटन पुग्न सडक सञ्जालको सुविधा छैन। अघिल्लो वर्षसम्म गोरेटोमार्फत भेडीगोठाला र पर्यटक बुकीपाटन उक्लिने गर्थे। यस वर्ष भने पदमार्ग बनेको छ।

नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ। यहाँ आउने पर्यटकको नजरमा सबैभन्दा पहिले भेडाका बथान र भेठी गोठमा पुग्ने गर्छ। ढोरपाटन पाखाथरदेखि करिब पाँच घण्टाको पैदल यात्राान बुकीपाटनको पहिलो गन्तव्य गर्पाछेडा पुगिन्छ। गर्पाछेडा पुग्दा बित्तिकै चारै तिर हजारौँका सङ्ख्यामा छरिएर चर्दै गरेका भेडाका बथान देख्दा पर्यटकको थकाननै मेटिने गर्छ। बुकीपाटनमा आउने अधिकांश पर्यटक भेडाका बथानसँग रमाउने ढोरपाटनका भेठी गोठाला भक्त अदैले बताए। 

पाँच वर्ष अगाडिसम्म गोठाला र भेडाका बथानबाहेक कोही पनि बुकीपाटनमा आउँदैनथे। पछिल्लो समय दिनदिनै बजारबाट पर्यटकहरू घुम्न आउने गरेको उनले बताए। आफूहरू बच्चैदेखि बुकीपाटनमा बस्ने हुँदा यहाँको सुन्दरतासँगै रमाउने बानी परिसकेको उनको भनाइ छ। पर्यटकले भेडीगोठ, भेडाका बथान र गोठालाका जनजीवनबारे बढी चासो दिएर हेर्ने गरेको अदैले बताए। पर्यटक आउन थालेपछि बुकी पाटनमा पहलपहल बढ्न थालेको उनी बताउँछन्। 

“हामी रहरले बुकीमा बसेका हैनौँ, अहिले त मान्छे रहरले घुम्न आउँछन्, भेडा पाल्ने हाम्रो बाध्यता हो, यहीबाटै हामीहरूले जीविकोपार्जन गर्छौं,” उनी भन्छन्, “शहर बजारका मान्छेले भेडाको बथान नदेखेको भएर होला, यहाँ आए भने घण्टौँ भुल्छन्, कोही त दुई/तीन दिन यहीँ बस्छन्।”

दहखर्क, टीकाधारा, फुर्सेधारा, फागुनेलगायत थुप्रै बुकीपाटन क्षेत्र पर्छन्। यो याममा बागलुङसहित पूर्वी रुकुम, डोल्पा र म्याग्दीका सयौँ गोठाला अस्थायी गोठ बनाएर बस्दै आएका छन्। सयौँ गोठालाको हजारौँ संख्यामा भेडाबाख्रा, गाईभैँसीले बुकी पाटननै ढाकिएका हुन्छन्। एउटै गोठालाको पाँच हजारसम्म भेडा हुन्छन्। धेरै स्थानबाट गोठालाले भेडा लिएर आउँदा सिंगो पहाडनै ढपक्क ढाकिने गर्छ। रोल्पाको सुनछहारीबाट बागलुङको निसीखोला, निसेलढोर हुँदै बुकीपाटन आउनुभएका पुनराम घर्तीमगरले हिजोआज घुम्न आउने पर्यटकको संख्या बढेको सुनाए। 

आफू झन्डै ४० वर्षदेखि बुकीपाटनमा भेडा चरनका लागि आएको सुनाउँदै पहिले कोही पनि घुम्नका लागि नआउने उनको भनाइ छ। रोल्पाबाट दुई साता लगाएर भेडी गोठ लिएर आएको घर्तीमगरले बताए। आफूले झन्डै एक हजार ७०० भेडा पाल्दै आएको उनको भनाइ छ। एकै ठाउँमा हजारौँको संख्यामा भेडा देख्दा घुम्न आएका पर्यटक दंग पर्ने घर्ती मगरले बताए। पर्यटकले गोठालाको कपडा, खाना र बासस्थानलाई बढी चासो दिएर हेर्ने गरेका छन्। 

“उनीहरूले यहाँ आएर हाम्रो भिडियो बनाएर जान्छन्, के–केमा आउँछ हेर्नु होला भन्छन्, हामीसँग मोबेल (मोबाइल) पनि छैन, केही छैन के बाट हेर्ने?,” उनले भने।

बुकीपाटन समुद्री सतहदेखि चार हजार ५०० मिटरको उचाइसम्म फैलिएको छ। यहाँ हरेक बर्सातको समय असारदेखि कात्तिकसम्म गोठाला बस्ने गर्छन्। कात्तिक महिना पछाडि चिसो बढ्ने हुँदा बेँसी झर्ने गर्छन्। भैरवाहदेखि बुकीपाटन आएका प्रकाश ज्ञवालीले यहाँको प्राकृतिक सुन्दरता र भेडाका बथानले आफूलाई लोभ्याएको बताए। आठ जनाको समूहमा ढोरपाटन उपत्यका घुम्न आएको बेला होटल व्यावसायीले बुकीपाटन जान सुझाएपछि बुकी उक्लिएको उनको भनाइ छ। 

“बुकीपाटनमा म पहिलोपटक आएको हुँ, पहाडै ढाकिने गरी चर्दै गरेका भेडाका बथान देखेँ, यो मेरो ‘लाइफ’कै अविस्मरणीय हुनेछ,” उनले भने, “यहाँका गोठाला कति सहयोगी, कति मायालु, सबैभन्दा बढी त म यहाँको गोठ र भेडाहरूले प्रभावित भएँ।”

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *