हिउँ चितुवा जोगाउँदै बालबालिका

दुर्लभ वन्यजन्तु हिउँ चितुवा र यसको महत्त्वबारे विद्यालयमा ज्ञान लिएर सचेतना विस्तार गरी मुस्ताङ र ताप्लेजुङका बालबालिकाले समुदायमा आधारित संरक्षण कार्यक्रममा टेवा पुर्याइरहेका छन्।
मुस्ताङको घरपझोङ गाउँपालिका-५, ठिनीका मिलन विकले कक्षा ९ सम्म मात्र पढेका छन्। तर सानै उमेरमा उनले संरक्षणकर्मीको भूमिका निर्वाह गरिरहेका छन्। दुर्लभ जनावर हिउँ चितुवाबारे बुझेर यसको संरक्षणबारे समुदायका विद्यार्थी र अभिभावकलाई सचेतना जगाउने काम गरिरहेका छन्।
क्यामेरा ट्र्याप, जीपीएस र दूरबिनले कसरी काम गर्छन् र ती कसरी चलाउने भनेर उनी देखाउँछन्। तिनको प्रयोगबाट कस्ता उपलब्धि हासिल हुन्छन् भनेर सुनाउँछन्। मुस्ताङमा हरेक वर्ष आयोजना हुने हिउँ चितुवाको अनुगमन सम्बन्धी शिविरमा उनी विद्यार्थीलाई क्यामेरा ट्र्याप जडान गर्ने तरीका लगायतका कुरा सिकाउँछन्।
समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमले उनलाई संरक्षणतर्फ ढल्काएको हो। ‘संरक्षण शिक्षा सन्दर्भ पुस्तक’ ले हिउँ चितुवा संरक्षणप्रति उनको रुचि बढायो। यी पुस्तक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशन गरेको हो। सन्दर्भ पुस्तक प्रकाशन गर्न विभागलाई टेका समूह नेपाल र स्नो लेपर्ड कन्जर्भेन्सी, अमेरिकाले आर्थिक सहयोग गरेको छ।

मानव-वन्यजन्तु द्वन्द्व, चोरी शिकार, जलवायु संकट लगायत कारण नेपालमा हिउँ चितुवा जोखिममा पर्न थालेपछि संरक्षणका लागि नेपाल सरकार र राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थाबाट विभिन्न प्रयास भए। तिनैमध्येको एक हो, २०७८ सालबाट शुरू गरिएको समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रम।
यस कार्यक्रममा मुस्ताङ र ताप्लेजुङ जिल्लाका कक्षा ६, ७ र ८ का ७५० जना विद्यार्थीले हिउँ चितुवामा आधारित संरक्षण शिक्षा सन्दर्भ पुस्तकहरू पढ्दै आएका छन्।
कक्षामा सिकेका सैद्धान्तिक ज्ञानलाई उनीहरूले हिउँ चितुवाकै वासस्थानमा आयोजना गरिने ‘स्नो लेपर्ड स्काउट्स मनिटरिङ क्याम्प’ र ‘स्नो लेपर्ड नेचर टूर’ मा सहभागी भई व्यवहारमा उतार्ने अवसर पाइरहेका छन्। यस संरक्षण कार्यक्रममा हिउँ चितुवाको वासस्थान र त्यस वरपर रहेका गाउँहरू (जस्तै- ताप्लेजुङको घुन्सा, मुस्ताङको लप्रा) सहित १२ वटा समुदाय/विद्यालय आबद्ध छन्।
मुस्ताङको कागबेनीस्थित जनशान्ति माध्यमिक विद्यालयका संरक्षण शिक्षक ध्रुव बराल भन्छन्, “यस ठाउँमा हिउँ चितुवा र समुदायबीच द्वन्द्वको अवस्था थियो र अहिले पनि कतै छ। समुदायका बालबालिकाले यो विषय पढ्न थालेपछि हिउँ चितुवा संरक्षण गर्नुपर्छ भन्ने चेतना विद्यार्थी र उनीहरूको अभिभावकमा पुगेको छ।”
उनका अनुसार हिउँ चितुवा सम्बन्धी सन्दर्भ पुस्तक बालबालिकाले निकै चाख मानेर पढ्छन्। साताको एक दिन कक्षा ६, ७ र ८ मा सन्दर्भ पुस्तक पढाइन्छ। “विद्यार्थीहरू अन्य विषय पढ्दा दिक्क भइरहेको वेला यो विषय चाहिं रुचिका साथ पढ्छन्,” बराल भन्छन्।
हिउँ चितुवाको संरक्षणबारे पढेपछि मुस्ताङको मार्फास्थित जनवाल माविमा कक्षा ७ मा पढ्ने सोनिया विकले आफ्ना आमाबुबालाई यसबारे बुझाउन थालेकी छन्। उनी भन्छिन्, “शुरूमा हिउँ चितुवा भनेको कुकुर-बिरालो जस्तो सोचेकी थिएँ, तर यसबारे विद्यालयमा नियमित पढ्न थालेपछि यो त संरक्षण गर्नुपर्ने वन्यजन्तु रहेछ भन्ने थाहा पाएँ।”
मुस्ताङकै जोमसोमस्थित जनहित माविका संरक्षण शिक्षक भेषराज बास्तोला विद्यार्थीलाई हिउँ चितुवाको संरक्षण, पर्यावरणमा हिउँ चितुवाको महत्त्व, हिउँ चितुवासँग जोडिएका समुदायका सवाल, मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण, हिउँ चितुवा जोगाउन समुदायले खेल्ने भूमिका लगायत विषय आफूले सिकाउने गरेको बताउँछन्। “यी विषय विद्यार्थीले पजल, संरक्षणकर्मी र विज्ञहरूको तथ्यकथा, समुदाय कार्य, फिल्ड ट्रिप र अभिभावकसँगको अन्तरक्रियाबाट बुझ्छन्,” उनी भन्छन्।
बालबालिकाले विद्यालय तहदेखि नै यस्तो महत्त्वपूर्ण विषय सिक्दा भविष्यमा हिउँ चितुवाको संरक्षणमा महत्त्व राख्ने उनको भनाइ छ।
टेका समूह नेपालका कार्यकारी निर्देशक अनिल अधिकारी स्थानीय बालबालिकाले हिउँ चितुवाबारे बुझून् र समुदायलाई पनि बुझाउन सकून् भनेर हिउँ चितुवा संरक्षणमा आधारित संरक्षण शिक्षा पुस्तक प्रयोगमा ल्याइएको बताउँछन्। “संरक्षण शिक्षा मार्फत उनीहरूलाई मानव र वन्यजन्तुबीचको सहअस्तित्वको मूल्य सिकाउन र समुदायलाई संरक्षणका क्रियाकलापमा सहभागी गराउन यस पुस्तकले सघाउँछ,” उनी भन्छन्, “आजका बालबालिका नै भोलिका समुदायका जिम्मेवार अभिभावक हुने भएकाले सानैदेखि उनीहरूले संरक्षणको महत्त्व बुझेमा समुदायका लागि लाभदायक हुन्छ र हिउँ चितुवा संरक्षणमा पनि दीर्घकालीन फाइदा पुग्छ।”
संरक्षण पुस्तकका लेखक समेत रहेका उनी पुस्तकका माध्यमबाट विद्यार्थीलाई हिउँ चितुवासँग समुदायको सम्बन्ध बुझाउन, हिउँ चितुवा र समुदायबीच सहअस्तित्वको भावना विकास गर्न, हिउँ चितुवासँग जोडिएको समुदायको आर्थिक उपार्जनबारे बुझाइएको बताउँछन्।

ताप्लेजुङको बालदेन माविमा कक्षा ८ मा अध्ययनरत सन्जु साँवाले हिउँ चितुवाको संरक्षणबारे सन्दर्भ पुस्तकबाटै थाहा पाएकी हुन्। हिउँ चितुवाको संरक्षणबारे आफ्ना अभिभावकलाई पनि भन्ने गरेको उनी सुनाउँछिन्। ताप्लेजुङकै तापेथोकस्थित सरस्वती माविका प्रधानाध्यापक चन्द्रमणि लिम्बू यस क्षेत्रका बालबालिकाले हिउँ चितुवा नदेखेको भए पनि यो र यसको आनीबानी, आहारा र वासस्थानबारे प्रशस्त ज्ञान हासिल गरिसकेको बताउँछन्।
कार्यक्रमको प्रभावस्वरूप मुस्ताङको घरपझोङ गाउँपालिकाले तयार पारेको कक्षा १, २ र ३ को पाठ्यक्रममा हिउँ चितुवा सम्बन्धी पाठ समावेश गरेर पठनपाठन समेत शुरू गरिसकिएको छ। यस्तै, ताप्लेजुङको फक्तालुङ गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा हिउँ चितुवाको सन्दर्भ समावेश गरिएको छ। यसले आगामी दिनमा हिउँ चितुवा संरक्षणको विषय संस्थागत र दिगो हुने देखिन्छ।
हिउँ चितुवा र समुदायको सम्बन्ध
हिमाली समुदाय र हिउँ चितुवाको सम्बन्ध परापूर्वदेखि नै हो। कतिपय ठाउँमा हिउँ चितुवालाई नोक्सान पुर्याउनु हुँदैन भन्ने मान्यता पनि छन्। हिउँ चितुवा र मानवको सम्बन्धले पर्यावरणको चक्रमा महत्त्व राख्छ। हिउँ चितुवा विज्ञ डा. कमल थापा भन्छन्, “हिमालको आदिवासी समुदायले धर्मका लागि हिउँ चितुवाको संरक्षण गर्ने चलन पहिले नै थियो। संरक्षणको कानून पछि बन्यो।”
२०७९ सालमा माथिल्लो मुस्ताङका किसान मिङमार गुरुङको ७७ वटा च्याङ्ग्रा हिउँ चितुवाको एउटा समूहले गोठमै आएर मारिदियो। स्थानीय पालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)बाट केही राहत उनलाई मिलेको थियो। तर उनले बजार मूल्य अनुसार क्षतिपूर्ति पाएनन्। बर्सेनि हिउँ चितुवाको आक्रमणबाट यस क्षेत्रमा स्थानीयवासीका भेडाच्यांग्रा, घोडा, चौंरी, खच्चड मारिने घटना भइरहेका छन्। बौद्ध धर्मावलम्बी भएका, कानूनी दण्ड-सजायबारे पनि सचेत र हिउँ चितुवा संस्कृतिको प्रतीकका रूपमा पनि लिइने भएकाले स्थानीयहरूले घरपालुवा गाईबस्तुको क्षति भए पनि हिउँ चितुवाप्रति प्रतिशोधको व्यवहार कमै देखाउने गरेको देखिन्छ।
“हिउँ चितुवा भनेको सरकारको हो भन्ने बुझाइ अहिले समुदायलाई परेको छ। त्यसैले समुदायले अपनत्व लिने काम गर्नुपर्ने देखिन्छ,” डा. थापा भन्छन्, “जहाँ संरक्षणका प्रयास पहिलेदेखि नै एक प्रथाका रूपमा हुन्थे, ती ठाउँलाई सरकारले पहिचान र मान्यता दिनुपर्ने देखिन्छ।”

नेपालमा हिउँ चितुवाको अनुमानित संख्या ३९७ रहेको तथ्यांक यसै वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको छ। नेपाल सहित भारत, भूटान, पाकिस्तान, चीन, अफगानिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, कजाखस्तान, किर्गिस्तान, मंगोलिया र रूस गरी १२ देशमा हिमाली क्षेत्रको तीन हजार मिटरभन्दा माथि हिउँ चितुवाको वासस्थान हो। करनबहादुर शाह र हेमसागर बरालको पुस्तक नेपालमा हिउँ चितुवाको संरक्षण (२०६९ साल)मा लेखिएको छ, ‘स्वस्थ वातावरणको सूचकका रूपमा मानिने हिउँ चितुवाको राम्रो उपस्थिति हुनु उसले मारेर खाने गरेको नाउर, झारल, घोरल, कस्तूरी मृग लगायतका वन्यजन्तुको पनि त्यस ठाउँमा राम्रो उपस्थिति छ भन्ने जनाउनु हो।’
हिउँ चितुवाले प्रकृतिको खाद्यचक्रलाई सन्तुलनमा राख्न पनि भूमिका खेल्छ। हिमाली घाँसे मैदान स्थानीयवासीले चरनका रूपमा प्रयोग गर्दै आएका हुन्छन्। हिउँ चितुवाको वासस्थानमा गरिने पशुपालन र यार्सागुम्बा संकलनले समुदायको जीविकोपार्जनलाई सघाएको छ। हिउँ चितुवा लक्षित पर्यटन र आयआर्जनको सम्भावना पहिचान गरी त्यसतर्फ समुदाय अग्रसर भए आर्थिक उन्नति हुनुका साथै हिउँ चितुवाप्रति समुदायको सोच सकारात्मक हुने र त्यसले हिउँ चितुवा संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने देखिन्छ।
पछिल्लो समय स्थानीय समुदायको जीविकोपार्जनसँग जोडिएको चौंरी, भेडाच्यांग्रा पालन हिउँ चितुवाका कारण प्रभावित बनेको छ। घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकाली थापा भन्छिन्, “हिउँ चितुवाले किसानको भेडाबाख्रा खाइदिएर ठूलो समस्या हुने गरेको छ। पहिले त किसान आक्रोशित हुन्थे, अहिले भने हिउँ चितुवा संरक्षणप्रति जनचेतना पुगेको छ र पशुधन क्षति भए दिइने राहतले पनि सहज भएको छ।”
गत वर्षको फागुनमा माथिल्लो मुस्ताङको समरमा स्थानीयको गोठमै पसेर हिउँ चितुवाले केही च्यांग्रा मारिदियो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिउँ चितुवाको उद्धार गरेको थियो। एक्याप, लोमान्थाङका प्रमुख उमेश पौडेल भन्छन्, “समुदायमा आएर त्यसरी क्षति गर्ने हिउँ चितुवालाई ऊ बसिरहेको ठाउँभन्दा पर लगेर छाड्ने गरिन्छ। हामीले पनि उद्धार गरेर अर्कै ठाउँमा लगेर छाड्यौं। त्यसरी छाड्दा नयाँ ठाउँमा उसले त्यस्तो व्यवहार गर्दैन भन्ने मानिन्छ।”
पौडेलका अनुसार गत वर्षको हिउँदमा समुदाय र हिउँ चितुवाबीच द्वन्द्वका घटना बढेको थियो। जाडोमा नाउर, झारल लगायत वन्यजन्तु तल्लो भेगमा झर्ने र पानीका लागि पनि वन्यजन्तुहरू समुदाय भएको क्षेत्रमा पस्ने भएकाले आहारा पछ्याउँदै हिउँ चितुवा समुदायसम्म आइपुगेको उनको भनाइ छ। उनका अनुसार हिउँ चितुवा संरक्षणका लागि समुदायमा सचेतना अभियान चलाउनुका साथै समुदायलाई यससँग जुध्न सहज वातावरण पनि बनाइदिनुपर्ने हुन्छ। हिउँ चितुवा र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न यस वर्ष मुस्ताङमा कृत्रिम पोखरी बनाएको उनी बताउँछन्। “पोखरी भएपछि वन्यजन्तुलाई वन क्षेत्रमै पिउने पानी हुने भयो, पछि वरपर घाँस पलाउन सक्छ, जुन नाउर र झारलले खाने हुँदा उनीहरू बस्तीछेउ पुग्दैनन् र हिउँ चितुवा बस्ती छिर्दैनन् भन्ने मान्यता हो,” उनी भन्छन्।
समुदायमा आधारित संरक्षण रणनीतिको खाँचो
हिउँ चितुवा संरक्षणका लागि नेपाल सरकारले सन् २०२४ देखि २०३० सम्मको रणनीतिक योजना ल्याइसकेको छ। जसले हिउँ चितुवाको अस्तित्वलाई असर पार्ने चुनौती कम गर्दै पुस्तौंसम्म उनीहरूको अस्तित्वको सुनिश्चिततामा जोड दिएको छ। योजनामा संरक्षणमा समुदायको ज्ञान, समुदायको विकास, समुदायको नेतृत्वसँग द्वन्द्व व्यवस्थापन, संरक्षण समिति तथा नागरिक वैज्ञानिक र समुदायको परिचालन, संरक्षण सम्बन्धी सचेतना लगायत विषय प्राथमिकतामा छन्।
समुदाय र हिउँ चितुवाको सम्बन्ध र सहअस्तित्व पर्यावरणका लागि महत्त्वपूर्ण छ। यसका लागि समुदाय केन्द्रित कार्यक्रम ल्याउनुपर्ने हुन्छ। समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रम हिउँ चितुवाको वासस्थान लक्षित महत्त्वपूर्ण कार्यक्रम हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण शिक्षा शाखाका पूर्व प्रमुख एवं उपसचिव नारायण रुपाखेती हिउँ चितुवाको संरक्षणका लागि समुदाय स्तरमा पुग्न सकिने ध्येयले नै २०७८ सालमा हिउँ चितुवामा आधारित सन्दर्भ पुस्तकहरू ल्याइएको बताउँछन्। बाल्यकालदेखि नै हिउँ चितुवाबारे जानकारी भएपछि दिगो रूपमा समुदायमा सकारात्मक प्रभाव पर्ने र संरक्षणमा टेवा पुग्ने उनको भनाइ छ।
समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्दै मुस्ताङ र ताप्लेजुङका पालिकाहरूले अपनाएको अभ्यासलाई आधार मानेर हिमाली क्षेत्रका विद्यालयमा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकमा हिउँ चितुवा, अन्य संरक्षित वन्यजन्तु, प्राकृतिक स्रोत, संस्कृति र जीविकोपार्जन सम्बन्धी विषय समेटेर रणनीतिक योजना बनाउन सकिए त्यसले हिउँ चितुवाको दिगो संरक्षण, संरक्षणको संस्थागत विकास र समुदायको दिगो जीविकोपार्जनमा योगदान पुर्याउने देखिन्छ।