दारासिङ: भएकै एउटा कथा

काठमाडौँ– पूर्वेली जिल्ला झापामा माइवारि छ केर्खा बजार।
केर्खासँग एक होइन, अनेक किस्सा जोडिएका छन्। माथि केर्खा बजारदेखि तल किरातचोक, मुजुरभिट्टासम्मका हरेक पुराना चिया–पसल, घुम्ती–दुकान र पराले–टहरामा अलिखित इतिहास छ— पत्रपत्र बनेर बसेको समयरेखा। त्यो समयका साक्षी, भुक्तभोगी र इतिहास निर्माता अझै केर्खा वा आसपासमा भेटिन्छन्, जस्तो— वर्तबहादुर राई (तरबारे), कान्छा सुब्बा (मेन्याङ्बो), कालीप्रसाद गिरी (पेल्टीमारी), पुनहाङ केरुङ (फालेलुङ), लोकबहादुर फागो (पथरी) आदि।
केर्खा आसपासकै इतिहास हुन्— किङकङ (तेजबहादुर योङहाङ, पेल्टीमारी), फाइटर (तिलनाम नेम्बाङ, पाडाँजुगी) र दारासिङ (कर्णबहादुर केरुङ, मुजुरभिट्टा)। पञ्चायती शासन चर्किएका बेला झोडा आवाद र सट्टाभर्नाका नाममा भूराजनीति (भूमिसुधार) भएको खरो ठाउँसमेत हो— केर्खा। बिशेषत पूर्वीपहाडबाट तमोर नदीको झल्को बोकेरै झोडा फँडानी, आवादी र सट्टाभर्नामा तल माई नदी आसपासमा आइपुगेका किराती दाजुभाइसँग राज्य–सत्ताले जेजसरी तिकडम गरेको थियो, त्यसैको प्रतिरोधमा जन्मिएका नाम थिए— दारासिङ र किङकङहरू।
संयोगले त्यो इतिहासमा जोडिएका दारासिङ (कर्णबहादुर)का निकटस्थ साथी लोकबहादुर फागो अहिले मोरङ, पथरीका बासिन्दा छन्। पाँचथर, मच्छेबुङदेखिकै साथी लोकबहादुर पनि २०२२ सालमा चुलाचुली (बाँझो) बसाइँ सरेका हुन्। पछि सरकारी हुकुम र सट्टाभर्नाको लहर चलेपछि यी दुवै कर्खाबाट तीन किलोमिटर दक्षिण मुजुरभिट्टा बसोबासमा आइपुगेका हुन्। “हामी चुलाचुलीको सट्टाभर्नामा मुजुरभिट्टा आएका थियौँ,” ७५ वर्षीय लोकबहादुरले ती दिन सम्झिँदै भने, “खासमा मेरो साथी कर्णबहादुर निकै असल मन भएको मान्छे थियो। गरीबदुखीका पक्षमा बोल्ने, अन्याय सहन नदिने र गाउँटोल विकासमा पनि लागेको थियो। ऊ मुजुरभिट्टामा वार्डको अध्यक्ष भएकै बेला केर्खा बजार व्यवस्थित गर्नेदेखि सुधारका पक्षमा अनेक काम गरिबस्थ्यो। तर, हरेक मान्छेसँग शत्रु हुने रहेछ, समूहमा हिँड्ने र हक्कीपना देखाउने कर्णबहादुरको विपक्ष पनि उस्तै बनेको रहेछ। त्यही भएर त्यसलाई देखिनसहेको हो।”

तिनै कर्णबहादुर उर्फ दारासिङको स्मृतिमा गत वर्षमात्रै एउटा चोक नामकरण गरिएको रहेछ— दारासिङ चोक, मुजुरभिट्टा (कमल—४)।
अनि ‘उर्फ दारासिङ’ जन्मियो…
इतिहासको उत्खनन यसरी नै हुन्छ। अनि, इतिहासको पत्रमा लुकेको एउटा पात्रका बारेमा बनेको/बनाइएको भाष्य पनि त्यसैगरी निर्माण हुन्छ, जस्तो दारासिङमा भएको छ।
लेखक गणेश रसिकको एउटा उपन्यास छ— ‘आकाशगंगाको ओतमुनि’। त्यसमा थातथलो सट्टाभर्नामा पहाडबाट तराई झरेका भूतपूर्व सैनिक परिवारले बेहोरेको बुहार्तनको कथा छ। त्यही उपन्यासको सार खिचेर रंगकर्मी चेतन आङ्थुपोले ‘झोडा’ नाटक देखाएका थिए, तीन वर्षअघि। उपन्यासकार रसिकका अनुसार, पूर्वीपहाडका सोझासिदा जनता र त्यसमा पनि भूतपूर्व सैनिक (अधिकांश किराती समुदाय) लाई तराईको झोडाक्षेत्र फडानीमा ल्याएर र सट्टाभर्ना दिलाएर शुरू भएको कोपभाजनको राजनीति आफैमा डरलाग्दो थियो। झोडाका नाममा गरिखाने ‘झोडे नेता’हरू आफू अनेक खालका बिगार गरिहिँड्थे, तर देखाइन्थे— दारासिङ र किङकङलाई!
स्वभावतः त्यो समयले झगडा र विद्रोहका आ–आफ्ना ग्याङ/गिरोह जन्माएको थियो। पछि त्यही गिरोह बहुदल र निर्दलको प्रचारक ‘साधन’ पनि बन्न पुग्यो। ‘झोडा’मा राज्यहिंसा थियो, दमन र व्यभिचार थियो। त्यही ‘झोडा’मा हुर्किँदै गरेको एउटा पात्र कर्णबहादुर (नाटकमा कर्णसिंह) केरुङ कुनै एउटा फूलनदेवीझैँ प्रतिकात्मक रूपमा हुर्कियो, बढ्यो।
रंगकर्मी आङ्थुपोले यसरी ‘झोडा’ हुँदै जन्मिएको एउटा पात्र कर्णबहादुर केरुङ (दारासिंङ) लाई मनैमा राखेका रहेछन्। यो अद्भुतको पात्रमाथि नाटक बनाउने अठोट उब्जिनासाथै पछिल्लो एक वर्ष दारासिंङमाथि तथा उसले बाँचेको समयका पात्र र घटनाहरूमाथि गहिरो अध्ययन–अनुसन्धान सम्भव भएको रहेछ। यसमा नाटक लेखक सुमन लिङ्देन र निर्माता सुमन राईले दिएको साथ–सहयोगले ‘उर्फ दारासिंङ’ रंगमञ्चमा आइसक्दा अद्भुत काम देखिएको छ, एउटा बायोपिक तर अन्दाजै नगरिएको।
कर्णबहादुर केरुङ (उर्फ दारासिङ) पाँचथरको सिदिन (फालेलुङ गाउँपालिका चिलिङदिङ)मा जन्मिए, एक गोर्खा सैनिक परिवारमा। २००४ सालमा जन्मिएका कर्णबहादुर गाउँघरमा ‘चिम्से’ नामले चिनिन्थे। दोहोरो आङ र हक्की मिजासका कर्णबहादुर जम्मा ३३ वर्ष बाँचे, ०३७ साल (पुस मसान्त)मा झापाको माइमेलामा उनको हत्या भयो। अज्ञात मुठभेडमा मारिएपछिको अफवाह के थियो भने मानौँ, कर्णबहादुर मारिएका होइनन्, दारासिङ मात्रै मारिएको छ। तर, यसबीचमा इलाम, पेल्टीमारी–टुकुरे हुँदै झापाको मुजुरभिट्टासम्म दारासिङले जे बाँचे, बिचित्रै बाँचे। (संयोगले दारासिङको एउटै फोटो केर्खाको प्रेम पन्धाक फोटो स्टुडियोमा फेला परेपछि निर्देशक चेतनले नाटक आवरणमा यही फोटो उपयोग गरेका छन्।)

दारासिङका अघिपछि हिँड्ने दौतरी लोकबहादुर फागो (पथरी)का अनुसार, ती सामाजिक हित र गरीबदुखीका पक्षमा बोल्ने एक विद्रोही पात्र थिए। त्यही कारण पञ्चायतको ‘तारो’ बने। ती हाउगुजी थिएनन्, तर बनिए/बनाइए—एक चर्को खलनायक! तर, के दारासिङ त्यतिकै ‘निर्गतिला’ थिए जो ३३ वर्षकै उमेरमा मारिएका थिए? अहिलेको भाषामा ‘ग्याङस्टार’ बनेको र ‘डनगिरी’ गरेको अफवाह यसरी फैलाइएको थियो कि रोइरहेको बालकलाई पनि ‘चुप लाग, नत्र दारासिङ आउला’ भन्ने भयातुर सन्त्रास सर्वत्र थियो।
जसले जे भने पनि इतिहासको कुरा गर्दा नेपालको नहारेको एउटै राज्य पल्लो किरातका प्रतिनिधि हुन् दारासिङ। नहारेका र हार्न नजानेका ती पात्रलाई फौदारी (फौजदारी, आर्ट अफ वार) प्रकृतिले सिकाएको थियो। राजनीतिको तिकडम नजानेका र राजनीतिक–चेत नभएका ती सिधासोझा पात्रलाई झोडामा बसालेर जेजसरी राजनीतिक–रणनीतिक कोपभाजनमा पारिएको थियो, त्यही सोझोपनाका माझ फौजदारीदेखि देवानी मुद्धासम्म थोपरिदै गएको इतिहास पनि सामुमा छँदै छ।
मण्डला थिएटरमा चलिरहेको नाटकमा दारासिङ बनेर उदाएका आकाश सुहाङ निकै ज्यूँदा लाग्छन्। लिम्बू संस्कृतिको सुन्दरतम शिल्पीमाझ मञ्चको पल्लो कुनोमा बसेर कहिले पालम, कहिले मुन्धुमका सुललित ध्वनी–धुन सुनाइरहने गायिका प्रभा राईले मञ्चनलाई अझ जीवन्त बनाएकी छन्। इतिहासको कुन्तरमा अपजसमाझ बेहोरेर बाँचेको एउटा पात्रलाई ‘सकारात्मक’ छायाँछविमा उतार्न आकाशले जोडेका विम्व–प्रतिक उम्दाका छन्। उहिलेको पालम र हाक्पारेका माझ, कतै धाननाच त कही ख्यालीका रसरंगमा दुईवटी श्रीमती ल्याउने (खासमा ४ जना रहेछन्) दारासिङ आखिरमा के थियो त? जो ‘मिथ’ पात्रझैँ अझै माइवारि र पारि बाँचिरहेको छ। यो मिथमा भने कर्णबहादुर मरिसक्यो, दारासिङ तरोताजा बाँचेकै छ।
फौदारी (फौजदारी) कलाकौशल लिएर हुर्केको एउटा किराती ठिटो खासमा नायक थियो कि खलनायक? हामी सामुको इतिहासलाई ‘इन्टरप्रेट’ गरिएको हो कि ‘मिसइन्टरप्रेट’? यो व्याख्या हो कि अपव्याख्या? यस्तै अनन्त जिज्ञासा मनैभरि लिएर रंगकर्मी चेतन आङ्थुपो दारासिङ खोजीमा लागेका रहेछन्। खोजी गर्दा उनले केर्खा बजारको आगत–विगत सम्झना गर्दै मुजुरभिट्टामा बसिरहेका दारासिङका तीन श्रीमतीहरूको खुटखबर पाएका रहेछन्, छोरा आशबहादुरसँगको संगत पाएका रहेछन्। जसबाट जन्मिएको रहेछ— उर्फ दारासिङ: भएकै एउटा कथा।

चेतनको चेतमा दारासिङ!
यसरी झन्डै एक दशकयता चुलचुली रंगमञ्चको माध्यमबाट निर्देशक चेतन आङ्थुपोले यसअघि ‘किपट’, ‘देवंसी राजा’, ‘मांगेना’, ‘झोडा’ मञ्चमा उतारिसकेका छन्। संयोगले सबैजसो ओझेलमा राखिएका (पारिएका) सिमान्तकृत मुद्दामा चेतनले चेत भरेका छन्। त्यसमा पनि जनजातीय मिथक र लिम्बू संस्कृति–सभ्यताको आवाज बनेका छन् चेतन।
यसपटक आफूले मञ्चमा उतारेको उही किपट प्रथाको इतिहास हुँदै झोडाको रणनीतिक कोपभाजनबाट अघि बढेर उनी दारासिङमा आइपुगेका हुन्। “राजनीतिक अर्थमा दारासिङलाई कसले बोकेको थियो वा कसले चलाएको हो भन्नेतिर नगएरै त्यो पात्रले यथार्थ धरातलमा राखेको प्रभाव र उसका सकारात्मक कुराहरू मैँले ल्याउन खोजेको छु,” चेतनले सुनाए, “उसले त्योबला बाँचेको जीवनमा चेत वा अचेत रूपले गरेका र गर्न सकेका काम के–के थिए भनेर खोतल्ने काम भएको छ।”
कुनै पात्रलाई कुन धारमा उभ्याउने अथवा नउभ्याउने भनेर भाष्य निर्माण गर्ने काम एउटा ‘मेकर’को नभए पनि इतिहासको कुनोमा छुपाइएको ‘अर्को सत्य पनि थियो है’ भन्ने सम्झाइराख्न चेतन जेजसरी आएका छन्, यो निकै उल्लेख्य छ, सहनीय पनि। ज्ञान/विवेकभन्दा पनि बलले चल्ने त्यो समयमा प्रतिकात्मक रूपमै भए पनि दारासिङले आफ्नो भाषा–लिपी र स्वपहिचानका निम्ति दिएको साथ तथा गाउँघरमा बाटो, पुल आदि बनाउने अभियानै चलाएको इतिहासलाई फेरि सम्झाउन मात्रै चाहेक हुन चेतनले।
“यसो भन्दैमा उनी सम्पूर्णमा असल मानिस थिए भनेर मैँले ढिपी गरेको छैन। घरमा जहान भए पनि अर्की ठिटी भगाएर हिँड्ने त्यो दारासिङ चरित्र पनि नाटकमा आएकै छ”, चेतन भन्छन्, “तर आफ्नो श्रीमानको आनीबानी र स्त्रीलम्पट चरित्रबारे स्वयं उसकै श्रीमतीलाई भन्दा बढी कसलाई थाहा होला र? एउटा श्रीमानलाई चारित्रिक प्रमाणपत्र दिन उसकै श्रीमतीभन्दा नजिकमा अर्को छड्के–साक्षी को होला र(?) भनेर मैले स्वयं दारासिङका तीनजनै श्रीमती (मुजुरभिट्टा) सँग पनि बुझबुझारथ गरिहेरेँ। तर, दारासिङमा बाहिर भनिएझैँ व्यभिचारी चरित्र मैले भेटिन।”
दारासिङ १८ बर्षसम्म पाँचथर पहाडमा थिए, त्यसपछि २५ बर्ष उमेरसम्म इलाम, पेल्टिमारीको झोडामा थिए। उबेला सरकारले नि:शुल्क बाँढ्ने चिनी टुकुरे क्षेत्र (बाह्गोठे जाने बाटो)मा केही ठूलाबढाले पैसा लिएर बाढिँदै गरेको दृष्य देखेर दारासिङ समूहले त्यसको ठाडो प्रतिरोध गरेको थियो। सधैँ घोडामा हिँड्ने दारासिङको समुह गएर त्यो चिनी खोस्दै स्थानीयलाई निशुल्कमा बाँढिएको इतिहास सही रहेछ, जीवितै रहेछ। स्वभावत त्यो बिद्रोह थियो, भित्रभित्रै सल्केको राँको थियो। अन्यायविरुद्ध लडेरै छाड्ने त्यो सानो संकेतभित्र ठूलो सन्देश थियो नै।
“तपाईले भनेको इतिहासको पाठ पनि सही होला। तर मैँले भनेको र देखाउँदै गरेको इतिहास पनि गलत चै होइन है भनेर मैले दारासिङमाथि काम गर्ने आँट गरेको हुँ,” चेतन भन्छन्, “हामीले पढ्ने इतिहासका किताबमा गलत लेखिएपछि र प्रायोजित–नियोजित इतिहास पढाइएपछि त्यसको संशोधन सुरु भएको यथार्थलाई भुल्न मिल्दैन। मैंले पनि दारासिङ बारेमा हुँदै नभएकोभन्दा ‘भएकै एउटा कथा’ बाहिर ल्याएको हुँ।”

म दारासिङको छोरो!
मण्डला थिएटरमा ‘उर्फ दारासिङ’ मञ्चन भइरहेको छ। नाटक हेर्न इलाम, महाभारा छेउकुनोबाट पनि आएका छन् दर्शक। टुकुरे, बाह्रगोठे, केर्खा, मुजुरभिट्टा, पेल्टीमारी र भाङबारीका केही चिनारु अनुहार पनि भेटिन्छन् दर्शकदीर्घामा।
त्यही भिडमा कसैले साउतीको स्वरमा चिनायो— “ऊ त्यही हो दारासिङको छोरो। नाम हो, आशबहादुर केरुङ।”
गजबै लाग्यो। निर्देशक चेतनको सोधीखोजी र आग्रहमा आशबहादुर पनि आएका रहेछन्— आफ्नै बामाथि बनेको ‘उर्फ दारासिङ’ हेर्न। “अहिले तीनजनै आमाहरू (शेरहाङमा आङदेम्बे, आइतरानी योङहाङ र रामकुमारी नेम्वाङ) उता गाउँमै छन्, मुजुरभिट्टामा। मेरो आमा रामकुमारी भने बाले ल्याएको कान्छी हो रे,” पछि फुर्सदमा आशबहादुरले सुनाए, “म पनि ‘अरे’ मै कुरा गर्छु है त। मेरा बाबु दारासिङको २०३७ सालमा हत्या हुँदा म दुई वर्षको थिएँ रे। अनि, बाको बारेमा जे सुनेँ, सबै दन्त्यकथा जस्तै लाग्छ। तपाईंका लागि दारासिङ जस्तो कथा–कहानी (मिथ) हो, मेरा लागि पनि त्यस्तै कथा मात्रै हो।” आशबहादुर जो आफै १४ वर्षजति मलेसिया र कतार बसेर घर फिरेका छन्। उनलाई पनि बा कर्णबहादुर उर्फ दारासिङको किंवदन्ती र किस्सहरूले पिछा छाडेको छैन।
आश्चर्य यो छ कि हिजोअस्तिको इतिहास हो— दारासिङ! आधा शताब्दी पनि बितेको छैन। तर, यो पात्रको नकारात्मक भाष्य यसरी यतिधेरै बन्यो कि त्यही पात्रका अर्धांगिनी बनेका शेरहाङमा, आइतरानी र रामकुमारी छेउमा गएर कोहीकसैले केही सोध्ने चेष्टासम्म पनि गरेनन्। अथवा, त्यही केर्खा बजारमा डुलिहिँड्ने कान्छा सुब्बा (मेन्याङ्बो) र पर्तिर पथरी बजारतिर टहलिँदै गरेका लोकबहादुर फागोलाई पनि कसैले इतिहासको यो गलत व्याख्याका बारेमा सोधपुछ गर्नै चाहेका थिएनन्। किनभने डर थियो— त्यहाँ दारासिङको नाम जोडिएको छ।

धेरै बधाइ छ— लेखक सुमन लिङदेन, निर्देशक चेतन आङथुपो र निर्माता सुमन राईलाई जसले कुनै उडन्ते कहानीमा योपटक रंगमञ्च ब्युँताएका छैनन्। बरु इतिहासको संशोधन मण्डलझैँ दारासिंङको भाष्य संशोधनमा यी स्रष्टा खुलेर सामुमा आएका छन्।
उर्फ दारासिङ— सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला!