
HomestayKhabar.com – तानसेन ३ निवासी र होराइजन होमस्टेका सञ्चालक धनिश्वर वश्याल तानसेन होमस्टे समिति (Homestay Association of Tansen – HAT) को नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। वश्याल २०६७ सालदेखि होमस्टे व्यवसायमा सक्रिय छन् र सेवाको सुरुवात भएको चार वर्षमै अन्तर्राष्ट्रिय अवार्डसहित नेपालका उत्कृष्ट २५ होटल तथा होमस्टे प्रदायकको सूचीमा दोस्रो स्थान हात पारेका थिए।

अध्यक्षमा निर्वाचित भएपछि वश्यालले आफ्ना केन्द्रिय र प्रदेशस्तरीय नेटवर्कलाई तानसेनको पर्यटन विकासमा जोड्ने तथा होमस्टे व्यवसायको गुणस्तरीय सेवा अभिवृद्धिमा ध्यान दिने योजना सार्वजनिक गरेका छन्।
वश्याल हाल होमस्टे महासंघ नेपालको केन्द्रिय उपाध्यक्ष, विदेश विभाग प्रमुख तथा लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारीमा कार्यरत छन्। तानसेनको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै तानसेन नगर प्रज्ञा प्रतिष्ठानले उनलाई ‘तानसेनका उत्कृष्ट २५ उद्यमी’ मध्ये एकका रूपमा सम्मान गरेको थियो।

२०७६ सालमा स्थापना भएको HAT को नेतृत्व यसअघि तेस्रो अधिवेशनसम्म होमस्टे व्यवसायी मनमोहन श्रेष्ठले गरेका थिए। वश्यालका अनुसार, होमस्टे अवधारणा नेपालका ग्रामीण भेगसम्म पर्यटन पुर्याउन, स्वरोजगार सिर्जना गर्न र स्थानीय अर्थतन्त्र सबल बनाउन प्रभावकारी भएको छ।HAT मा आवद्ध होमस्टेहरूको गुणस्तरिय सेवाको कारणले आन्तरिक तथा बाह्य पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको पर्यटन विज्ञहरूको मूल्यांकन छ।