मागभन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

काठमाडाैँ– नेपाल ह्याचरी उद्योग संघले आजदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ।
संघमा आवद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाएको हो। चल्ला उत्पादक किसानले लागतअनुसार मूल्य नपाएपछि संघले एक साता उत्पादन तथा बिक्रीवितरण बन्द गरेको जनाएको छ।
संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार उत्पादित चल्ला र मासुले मूल्य नपाएपछि एक साताका लागि उत्पादन बन्द गरिएको हो। उनले भने, “व्यवसायीले चल्लाको उत्पादन मूल्यभन्दा कममा बेच्नुपर्ने र बिक्री नै नहुने अवस्थामा भई अहिलेको अवस्था आएपछि हामीले चल्ला उत्पादन बन्द गरेका हौँ।”
अहिले नेपालमा ५३ ह्याचरी उद्योग सञ्चालनमा रहेका छन्। कोभिड अघिसम्म ३७० को हाराहारीमा उद्योग सञ्चालनमा रहेका थिए। नेपालमा अहिलेको बजार खपत सातामा २० लाखदेखि २२ लाख मात्रै रहेको भए पनि उत्पादन भने सातामा ३० देखि ३५ लाख हुने गरेको छ। मागभन्दा उत्पादन बढी भएपछि समस्या आएको हो।
चल्ला बिक्री नहुँदा सञ्चालनमा रहेका ह्याचरी उद्योगसमेत धरासाही भएका छन्। उत्पादित चल्ला १० देखि १५ रुपैयाँमा बेच्नुपर्ने भएपछि उद्योग बन्द गरिएको हो। ब्रोइलर चल्लाको लागत मूल्य ६० रुपैयाँ पर्न आउँछ। हरेक आइतबार र बुधबार ब्रोइलर र कोइलरका चल्ला उत्पादन गरिँदै आएको छ।