नवलपुर । होमस्टे सञ्चालन तथा व्यवस्थापनलाई एकरूपता दिने उद्देश्यसहित नयाँ राष्ट्रिय कार्यविधि निर्माण प्रक्रिया अघि बढाइएको छ। उक्त कार्यविधि निर्माणका लागि नेपालका ७० जिल्लासहित भारतको सिक्किमबाट समेत करिब ३०० जना अगुवा होमस्टे सञ्चालक नवलपुरको कावासोतीमा भेला भई गहन छलफलमा जुटेका छन्।

होमस्टे महासंघ नेपालको आयोजनामा कावासोतीस्थित अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे बाघखोरमा घरबास (होमस्टे) सञ्चालन कार्यविधि माथि अन्तरक्रिया तथा सुझाव संकलनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी सुरु भएको हो। कार्यक्रम नेपाल पर्यटन बोर्ड, दीगो पर्यटन परियोजना (Sustainable Tourism Project) र संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) को संयुक्त सहकार्यमा आयोजना गरिएको हो। शुक्रबारदेखि सुरु भएको गोष्ठी तीन दिनसम्म सञ्चालन हुनेछ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सूचना प्रविधिको तीव्र विकाससँगै पर्यटकको रुचिमा परिवर्तन आएको उल्लेख गर्दै इन्टरनेटमार्फत नयाँ–नयाँ गन्तव्य खोजेर यात्रा गर्ने पर्यटकको संख्या बढ्दै गएको बताए। उनले नेपालको सामुदायिक होमस्टे अवधारणा विश्वमै चर्चित भएकाले यसको प्रवर्द्धनमा पर्यटन बोर्ड सक्रिय रहेको जानकारी दिए। देशभरका सबै होमस्टेलाई एउटै कार्यविधिअन्तर्गत सञ्चालन गर्न बोर्डले निरन्तर पहल गर्दै आएको पनि जोशीले बताए।

होमस्टे महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष प्रेम शंकर मर्दानिया थारुले देशभर फैलिएका होमस्टेको मौलिकता र मर्म जोगाउन राष्ट्रिय स्तरको कार्यशाला आयोजना गरिएको बताए। पछिल्लो समय विभिन्न प्रदेश तथा स्थानीय तहले फरक–फरक कार्यविधि बनाउँदा होमस्टेको मौलिकतामाथि प्रश्न उठ्न थालेपछि एकरूपता ल्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो।
अध्यक्ष थारुले होमस्टेले ग्रामीण क्षेत्रमा हजारौंलाई रोजगारीको अवसर सिर्जना गरेको उल्लेख गर्दै स्थानीय प्राकृतिक, सांस्कृतिक पक्ष, परिकार र भेषभूषाको संरक्षण गर्दै नेपालमा होमस्टे संस्कृतिको विकास हुँदै आएको बताए।
कार्यक्रममा होमस्टे महासंघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज प्रकाश गुरुङले नेपाली समाजमा साँझ आएको पाहुनालाई सेवा सत्कार गर्ने परम्परालाई आयआर्जनसँग जोडेर वि.सं. २०५४ सालबाट होमस्टे व्यवसाय सुरु भएको जानकारी दिए।
महासंघका महासचिव कृष्ण चौधरीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म होमस्टे सञ्चालनमा एकरूपता ल्याउन र स्थानीय विशेषताको प्रवर्द्धन गर्न यस्ता राष्ट्रिय कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।

नेपाल पर्यटन बोर्ड र युएनडिपीको साझेदारीमा आयोजना गरिएको गोष्ठीमा अब बन्ने कार्यविधिका विषयमा सूक्ष्म र व्यवहारिक छलफल भइरहेको महासंघका कोषाध्यक्ष तथा मस्यौदा समितिका सदस्य सुरज बाँस्तोलाले जानकारी दिए। उनका अनुसार कार्यविधि मस्यौदालाई अन्तिम रूप दिन विभिन्न स्थानमा नौ चरणको बैठक तथा छलफल भइसकेको छ।
यसअघि विभिन्न प्रदेशले बनाएका नीति तथा नियममा एकरूपता नहुँदा समस्या देखिएपछि सामुदायिक तथा निजी होमस्टे सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय कार्यविधिको आवश्यकता महसुस गरिएको होमस्टे महासंघले जनाएको छ।







