सहिद लखन गाउँपालिकामा कागुनो खेतीको सुरुवात, स्वास्थ्य र पर्यटन प्रवर्द्धनमा टेवा

घैरुङ, सहिद लखन गापा–६ ।
स्थानीय कृषक पूर्ण बहादुर आले र खेम माया आलेले आफ्नो बारीमा रैथाने बाली कागुनो खेती सुरु गरेका छन्। फागुनको अन्तिम सातातिर छरेको कागुनो करिब १०३० मिटरको उचाइमा राम्रोसँग उत्पादन भएको छ। अन्य खाद्यबालीभन्दा फरक, कागुनोलाई बादरले नोक्सान नगर्ने भएकाले ग्रामीण क्षेत्रमा यसलाई सुरक्षित र लाभदायक बालीको रूपमा लिइएको छ।
कागुनो (गुरुङ भाषामा कावनु) एक परम्परागत अन्न हो, जुन विशेषगरी अन्नपूर्ण क्षेत्र आसपासका पहाडी भेगहरूमा पाइन्छ। छिटो पाक्ने यो बालीलाई धान झैं सुकाएर ढिकीमा कुटी चामल निकालिन्छ र भात पकाइन्छ।
कृषक आले दम्पतीको सफल प्रयोगले गाउँमा नयाँ उत्साह थपेको छ। गाउँपालिकाले पनि यसलाई स्थानीय स्तरमा प्रवर्द्धन गर्दै अन्य कृषकहरूलाई कागुनो खेतीमा जोड दिन आह्वान गरेको छ।
कागुनो खेती: स्वास्थ्य र पर्यटन दुबैको लागि उपयुक्त
कागुनोमा ग्लुटोनरहित प्रोटिन, आइरन, क्याल्सियम र उच्च मात्रामा फाइबर पाइन्छ। मधुमेह, रक्तचाप र हृदय रोग नियन्त्रणमा उपयोगी यो बाली स्वास्थ्य सचेत पाहुनाहरूका लागि आकर्षण बन्न सक्छ।
ग्रामीण भेकमा स्वास्थ्यप्रद र मौलिक खानाका रूपमा कागुनोको प्रयोगले होमस्टेमा नयाँ स्वाद र कथा थप्न सक्छ। स्थानीय परिकारमा विविधता ल्याउने यस्तो अन्नबालीले ग्रामीण पर्यटनलाई अझ प्रोत्साहन गर्ने सम्भावना छ।
#स्थानीय खेती, स्थानीय स्वाद