आस्था, एकता र संस्कृतिको अनुपम उत्सव: आँबुखैरेनी श्रीकृष्ण जन्माष्टमी जात्रा (भिडियाे सहित)


राजेश सुनाम आँबुखैरेनी, तनहुँ –
आँबुखैरेनीमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व विगतका वर्षहरूमा जस्तै भव्यता र सभ्यताका साथ सम्पन्न भएको छ। धार्मिक आस्था, सांस्कृतिक विविधता र सामाजिक सद्भावलाई प्रतिबिम्बित गर्ने यस पर्वले हजारौँ श्रद्धालु, स्थानीय तथा आगन्तुकहरूलाई आकर्षित गर्यो। लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको यो जात्रा स्थानीय समुदायको मात्र नभई सम्पूर्ण क्षेत्रकै सामूहिक गौरवको प्रतीक बन्न पुगेको छ।

यस जात्राको आयोजना र संयोजनमा आँबुखैरेनी संस्कृति संरक्षण मञ्चले प्रमुख भूमिका निर्वाह गरेको थियो। मञ्चका अध्यक्ष मनोजकुमार श्रेष्ठको नेतृत्वमा रहेको युवाहरूको टोलीले अथक परिश्रम गरी सम्पूर्ण कार्यक्रमलाई व्यवस्थित, सभ्य र आकर्षक तुल्याएको थियो। विभिन्न स्थानीय टोल सुधार समितिहरु , नेवा: गुठीहरु , समूह र बस्तीहरूको सामूहिक सहभागिता यस पटकको जात्राको प्रमुख विशेषता रह्यो, जसले यसलाई एक वृहत् सामूहिक उत्सवको स्वरूप प्रदान गर्यो।
यस वर्ष जात्रामा ७०-८० हजार मानव सागर उर्लेको थियो। ४० भन्दा बढी समूहले झाँकी तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। देवी-देवताको रूप धारण गरेका युवा तथा बालबालिकाले प्रस्तुत गरेका जीवन्त झाँकीहरूले वातावरणलाई साँच्चै भक्तिमय र मनमोहक बनाएको थियो। परम्परागत भेषभूषा, बाजा र नृत्यमार्फत महिलाहरूले पर्वमा रौनकता थपे भने युवायुवतीहरूले आधुनिक शैलीका गीत-सङ्गीत, कन्सर्ट र चुड्कामा सक्रिय सहभागिता जनाए। यसरी जात्राले धार्मिक आस्थासँगै पुस्तान्तरणको सम्बन्धलाई थप सुदृढ तुल्याएको देखिन्थ्यो।
जात्राको रौनक बिहानैदेखि सुरु भएको थियो। बिहान ८:३० बजे होपाचाहो निकालेपछि वातावरण उल्लासमय बनेको थियो। अपराह्न ११:३० देखि ३:३० बजेसम्म बिचबजार क्षेत्रमा ब्राह्मण समाजद्वारा भजन, कीर्तन र कृष्णलीला लघुनाटिका प्रस्तुत गरियो, जसले सम्पूर्ण वातावरणलाई भक्ति-भावनाले ओतप्रोत बनायो।
आँबुखैरेनी श्रीकृष्ण जन्माष्टमी जात्राले धार्मिक आस्थालाई सुदृढ बनाउँदै सामाजिक एकता र सांस्कृतिक संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको छ। आयोजकहरूको अथक परिश्रम, कलाकारहरूको आकर्षक प्रस्तुति, स्थानीयवासीको सक्रिय सहभागिता र युवाहरूको उत्साहपूर्ण उपस्थितिको संयोजनले यस पर्वलाई साँचो अर्थमा एक सामूहिक गौरवको उत्सवका रूपमा स्थापित गरेको छ।

यसैगरी, ऐना पहारा रेस्टुरेन्टका सञ्चालक श्री सन्तोष थापाको पहलमा दिउँसो १२:०० देखि ५:०० बजेसम्म ‘अनुग्रह ब्यान्ड’को साङ्गीतिक प्रस्तुति रह्यो। आधुनिक शैलीको यस प्रस्तुतिमा रमाएका युवाहरूका लागि यो एक स्मरणीय र आकर्षक अनुभव बन्यो।
साँझ ७:०० बजेदेखि राति करिब १२ बजेसम्म आँबुखैरेनी संस्कृति संरक्षण मञ्चको आयोजनामा मुख्य चोक नजिकै बृहत् लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त लोकदोहोरी गायक चिज गुरुङ, चन्द्र परियार, र लोकप्रिय गायिका सुस्मा शाही ठकुरीलगायत करिब दुई दर्जन कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो।
कहरसिंह थापा, कमल सापकोटा, दीर्घ खनाल, मुना रोका, अनु सुनार, सिता बी.सी., सरु गुरुङ, कल्पना आले, अनु परियार, शिखा गुरुङ, मञ्जु गुरुङ, प्रज्वल अर्याललगायतका कलाकारहरूले नृत्य, गीत, हास्यव्यङ्ग्य र विविध प्रस्तुतिहरू दिएर रातलाई उल्लासमय बनाउनुका साथै संस्कृति र परम्पराप्रति गौरवान्वित हुने अवसर प्रदान गरे।
यसै क्रममा, सिद्धि गणेश टोल-बसपार्कका युवाहरूले किशोर-किशोरी तथा युवा पुस्तालाई लक्षित गरी कन्सर्ट आयोजना गरेका थिए, जसमा ठूलो सङ्ख्यामा युवाहरू रमाए। आधुनिक सङ्गीत, नृत्य र चुड्कामा उनीहरूको उत्साहपूर्ण सहभागिताले धार्मिक पर्वलाई नयाँ पुस्तासँग जोड्ने एक अभिनव प्रयासको उदाहरण प्रस्तुत गर्यो। रातभर ७-८ वटा खालमा युवायुवतीहरूले चुड्का नाचेर जात्रालाई अझ मनोरञ्जनपूर्ण बनाए।

यस जात्राको अर्को उल्लेखनीय पक्ष धार्मिक आस्था र आधुनिक मनोरञ्जनबीचको सन्तुलन थियो। एकातिर परम्परागत झाँकी, बाजा र नृत्यमार्फत मौलिक पहिचान संरक्षणको सन्देश प्रवाह गरिएको थियो भने अर्कोतर्फ आधुनिक कन्सर्ट र ब्यान्ड प्रदर्शनमार्फत युवा पुस्तालाई आकर्षित गरिएको थियो। यसरी पुरानो र नयाँ दुवै पुस्तालाई समेटेर जात्राले संस्कृतिको पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
श्रीकृष्ण जन्माष्टमी पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई सामाजिक एकता र सांस्कृतिक संरक्षणको प्रतीक बनेको छ। देवी-देवताको झाँकी, लाखे नाच, लोकदोहोरी, पञ्चे बाजा, धिमे बाजा जस्ता प्रस्तुतिहरूले “आफ्नो मौलिक संस्कृति जोगाऔँ, नयाँ पुस्तामा हस्तान्तरण गरौँ” भन्ने स्पष्ट सन्देश दिएका छन्। यो पर्वले निरन्तरता पाउँदै आएकोले पुस्ता-पुस्तामा संस्कृतिको जीवन्तता सुनिश्चित गरिरहेको छ। आजको पुस्ताले यी झाँकी, बाजा र नृत्यसँग निकटता महसुस गरी आफ्नो संस्कृति र परम्पराप्रति गर्व गर्ने प्रेरणा प्राप्त गरेका छन्।
जात्राले सामाजिक एकता र सांस्कृतिक संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको छ: पालिका अध्यक्ष शुक्र चुमान

यस वर्षको आँबुखैरेनी श्रीकृष्ण जन्माष्टमी जात्राले धार्मिक आस्थालाई सुदृढ बनाउँदै सामाजिक एकता र सांस्कृतिक संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको छ। आयोजकहरूको अथक परिश्रम, कलाकारहरूको आकर्षक प्रस्तुति, स्थानीयवासीको सक्रिय सहभागिता र युवाहरूको उत्साहपूर्ण उपस्थितिको संयोजनले यस पर्वलाई साँचो अर्थमा एक सामूहिक गौरवको उत्सवका रूपमा स्थापित गरेको छ। हामी यस जात्रालाई परिष्कृत गर्दै समुदाय र स्थानिय सरकारको सहकार्यमा सँस्कृती संरक्षण गर्दै मौलिक परम्पराको पुस्तान्तरणको एक उच्चतम नमुनाको रुपमा विकास गर्न चाहन्छौ । पलिका र स्थानिय नेतृत्व सधै स्थानिय परम्परा जात्रा र मौलिकताको संरक्षक र प्रवर्धकको भुमिकामा रहन्छ ।
मौलिकता जर्गेना, पुस्तान्तरण गरि जीवन्त राख्न जात्रा अपरिहार्य: अध्यक्ष मनोज कुमार श्रेष्ठ

यस जात्राको आयोजना र संयोजनमा प्रमुख भुमिका कसको रह्यो ?
जात्राको आयोजना आँबुखैरेनी सँस्कृति संरक्षण मञ्च ले गरेको र संरक्षकको भुमिकाका आँबुखैरेनी गाउँपालिकाले रहेको थियो ।
स्थानिय को सहभागिता कस्तो भयो ?
करीब एक महिना अघाडि देखि भव्य तयारी गरी यस जात्रालाई जीवन्त बनाउन लागि पर्ने यहाँका स्थानियहरु जागरुक र उत्साहपुर्वक जात्रा सफल बनाउन अहोरात्र लागी परेर पर्वलाई सफल बनाएका हौं । सो अनुरुप जनसहभागिता भव्य र सभ्य रहेको थियो ।
राष्ट्रिय स्तरका कलाकारको उपस्थिति कस्तो रह्यो ?
राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकारहरु चिजकुमार गुरुग, शुष्मा शाहि ठकुरी तथा चन्द्र परियारको सहभागिता रहेको थियो ।
जात्रामा अन्य आर्कषण के थिए ?
आँबुखैरेनी गाउँपालिका भित्र बस्ने सबै जातजाती समेट्ने किसिमले सबै जनजातीको कला, भेषभुसा, कुमार नाच, मञ्जुश्री नाच, बालन नाच, लाखे नाच, धिमे बाजा, टाकटुके नाच, पाउँदुरे नाच, रोपाँई जात्रा, पञ्चे बाजा, खैचेडी भजन तथा बिभिन्न समुदायका लोकदोहोरी गित पनि प्रस्तुत गरीएको थियो ।
यस्ता किसिमका प्रस्तुतीले के कस्तो सन्देश दियो भन्ने लाग्दछ?
हाम्रो सनातन धर्म सँस्कृती परम्परा र मौलिकता बचाउनुका साथै यसको संरक्षण र प्रर्वद्धनमा सकात्मक सन्देश दियो । हाम्रो परम्परा तथा कला संस्कृती तथा मौलिकतालाई चिनाउन तथा दीर्घकालिन बनाई राख्नुका साथै यस्ता मौलिकतालाई पुस्तान्तरण गर्दै जीवन्त राख्नका लागी यस किसिमका मेला पर्व जात्राकै भुमिका रहन्छ ।
व्यबस्थीत रुपमा जात्रा कहिले देखि सञ्चालन गर्न थालिएको हो ?
यस कृष्ण अष्टमी जात्रा अनौपचारीक रुपमा बर्षौदेखि चल्दै थियो तर सस्ंथागत र व्यवस्थित तवरले सञ्चालन हुन थालेको २०६३ साल बाट आँबुखैरनीका अगुवा समाजसेवी भगवानदास मल्लको नेतृत्वमा हो । वहाँले ले नै हो यसलाई व्यवस्थित गरेको २०८० साल सम्म । त्यसपछि नेतृत्व युवा पुस्तामा हस्तान्तरण भई आजको दिनमामा हरेक वर्ष जात्रा व्यापक हुँदै आईरहेको छ । आँबुखैरेनी गाउँपालिकाभित्र अवस्थित सम्पुर्ण टोल सुधार समिति, आमा समुह, धार्मिक संघ संस्थाहरुको जात्रामा सक्रिय सहभागिता रह्यो ।
जन्माअष्टमी जात्राको धार्मिक महत्व तथा उपलब्धी के के हुन सक्छ ?

कृष्ण जन्माअष्टमी आँफैमा एक पवित्र दिन हो । यसलाई भगवान श्रीकृष्णले यस लोकमा पर्दापण गर्नुभएको दिनको रुपमा यो सनातन हिन्दुधर्मालम्बीको महत्वपुर्ण दिनको रुपमा लिईन्छ । मुलतः यस जात्रामा आँबुखैरेनी गाउँपालिकाभित्र क्रियाशिल सम्पुर्ण टोल सुधार समिति, आमा समुह, धार्मिक संघ संस्थाहरुको उच्च सहभागिता हुने र बिभिन्न जातजातीको कला, भेषभुसा, कुमार नाच, मञ्जुश्री नाच, बालन नाच, लाखे नाच, धिमे बाजा, टाकटुके नाच, पाउँदुरे नाच, रोपाँई जात्रा, पञ्चे बाजा, खैचेडि भजन हुने र यस किसिमका अमुल्य निधिहरुको संरक्षण र प्रबर्धन हुने र जात्रा अवलोकन गर्न छिमेकका तीन चार जिल्लाहरुबाट पनि जात्रालुहरु आउने हुनाले आर्थीकरुपमा पनि धेरै यस्ता जात्रा पर्वहरु स्थानिय अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित हुदै गएको छ ।
जात्राले नयाँ पुस्तामा सस्कृति चेत छर्न र पुस्तान्तरणमा कस्तो योगदान गर्यो ?
यस जात्राले हाम्रो सनातन धर्म, सँस्कृति, कला, मौलिक धार्मिक बाजा लाई संरक्षण गर्न ठुलो भुमिका खेल्छ । यसले गर्दा सबै जनजाति तथा सनातन धर्मावलम्बिहरुको प्रतिनिधित्व गर्ने हुँदा सबैलाई एकताको सुत्रमा बाँध्ने काम गरेको छ । नयाँ पुस्तामाझ यस्ता कार्यक्रम प्रस्तुत हुँदा हरेक नाच पर्दशनीमा युवाहरुको उत्साहपुर्वक सहभागिताले कार्यक्रमको व्यापकता र युवा पिढीमा सँस्कृतीक चेतअझै फराकिलो र जात्राको दिघकालिनता र मौलिकत भर्दै मौकिक परम्पराको पुस्तान्तरणमा सफल भयौ भन्ने हामीलाई लागेको छ ।