लिमी भ्याली : तिब्बती संस्कृतिको छायामा लुकेको स्वर्ग

हुम्लाको उत्तर भागमा रहेको लिमी भ्याली साँच्चिकै अनौठो संसार हो। यहाँ तीनवटा गाउँ छन्—तिल, हाल्जी र जाङ। नाङ्गा पहाडको काख र खोलाको किनारमा टाँसिएर बसेका यी गाउँले टाढैबाटै तिब्बती शैलीको झल्को दिन्छन्।

लिमीमा पुगेपछि पुरानो संस्कृतिको सुगन्ध भेटिन्छ। नवौं शताब्दीमा बनेको भनिने हाल्जी गुम्बा भ्यालीकै मुख्य आकर्षण हो। यहाँ बोधिसत्व नामबर नाङजेदका मूर्तिहरू चारै दिशातर्फ फर्किएका छन्, जसलाई देख्दा धार्मिक श्रद्धा मात्र होइन, इतिहाससँग नजिकिएको अनुभूति हुन्छ।
लिमी केवल संस्कृति र इतिहासकै लागि मात्र होइन, यात्राको रोमाञ्चका लागि पनि परिचित छ। लाप्चा र हिल्सा नाकाबाट लिमी तिब्बतसँग जोडिन्छ। यही बाटो भएर स्थानीयले खाद्यान्न ल्याउँछन् र तीर्थालुहरूले मानसरोवर र कैलाश दर्शन गर्न पुग्छन्।
तर यहाँ पुग्न सजिलो छैन। सिमकोटसम्म हवाई यात्रा गरेपछि अझै चार–पाँच दिन पैदल हिँड्नुपर्छ। त्यही कठिनाइले गर्दा लिमी अझै स्वच्छ र मौलिक छ।

असोज–कात्तिक लिमी घुम्न सबैभन्दा उपयुक्त समय मानिन्छ। यहाँको न्यानो आतिथ्य, तिब्बती संस्कृति, हिमाली दृश्य र शान्त वातावरणले पर्यटकलाई मन्त्रमुग्ध पार्छ। भविष्यमा होमस्टे पर्यटनले लिमीलाई अझै नजिकबाट बुझ्ने मौका दिनेछ—जहाँ पाहुनाले केवल दृश्य मात्र होइन, संस्कृतिसँगै जीवनशैली पनि अनुभव गर्न पाउनेछन्।