गोरखा । मगर समुदायको भाषा, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित श्री जलदेवी आमा समूहको आयोजनामा श्री जलदेवी आमा समूहकी अध्यक्ष सुनमाया थापाको अध्यक्षतामा आयोजित माघेसङ्क्रान्ति विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम २०८२ साल माघ ०१ गते सहिद लखन गाउँपालिका वडा नं. ३ स्थित माथिल्लो ग्याजामा आयोजना गरिएको हो। स्थानीय स्तरमा मगर समुदायको सांस्कृतिक पहिचान उजागर गर्ने लक्ष्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा समुदायका अगुवा, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर रहनुभएको थियो भने विशेष अतिथिहरूमा वडा नं. ३ का वडा अध्यक्ष दीपक पाण्डे तथा वडा नं. २ की सकुन थापा रहनुभएको थियो। साथै वडा नं. ३ का जनप्रतिनिधिहरू र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरले मगर भाषा, मगर जातिको ऐतिहासिक योगदान तथा माघेसङ्क्रान्ति पर्वको सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व बारे प्रकाश पार्नुभयो। उहाँले मौलिक संस्कृति जोगाउन यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताउँदै स्थानीय तहबाट समेत संस्कृति संरक्षणमा सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा मगर समुदायको मौलिक संस्कृति झल्काउने कौरा, सोराठी, झ्याउरे लगायतका विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक नृत्य–गीतहरू प्रस्तुत गरिएको थियो। स्थानीय कलाकारहरूको प्रस्तुतीले कार्यक्रममा थप रौनकता ल्याएको थियो।
श्री जलदेवी आमा समूहले आयोजना गरेको उक्त कार्यक्रमले मगर समुदायको सांस्कृतिक पहिचानलाई मजबुत बनाउनुका साथै गाउँस्तरमा सांस्कृतिक पर्यटन र सामुदायिक एकताको सन्देश दिएको सहभागीहरूको भनाइ रहेको थियो।