काेत डाँडा ,ललितपुर भाद्र १४ –ओभरअल डेभलपमेन्ट नेटवर्क प्रा.लि.ले आफ्नो सातौँ वार्षिक साधारण सभा ललितपुरको कोतडाँडामा सम्पन्न गरेको छ। संस्थाले पर्यटन प्रवर्द्धन, नेतृत्व विकास र युवालाई सीपमूलक अवसर प्रदान गर्ने मुख्य उद्देश्यका साथ विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी अध्यक्ष राजकुमार लामिछानेले दिनुभयो।यसै कार्यक्रमको मुख्य आकर्षणका रूपमा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ प्रमुख अतिथि रहनुभयो। उहाँले होमस्टे पर्यटनलाई स्थानीय उत्पादन र संस्कृतिसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
“होमस्टे भनेको होटलजस्तो परिकार होइन, हाम्रो मौलिक रैथाने खानाको स्वाद चखाउने ठाउँ हो। आगन्तुकले यहाँको संस्कृति, कला र जीवनशैली महसुस गर्न पाउने व्यवस्था गर्नुपर्छ।”
मन्त्री श्रेष्ठले लामो समयदेखि रोकिएको होमस्टे कार्यविधि बागमती प्रदेश सरकारले चाँडै पारित गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, होमस्टे महासंघसँग संगै समन्वय गर्दै कानुनी तथा नीतिगत सहजीकरण गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका संस्थापक नगरप्रमुख सोम प्रसाद मिश्रले आफ्नो कार्यकालमा चाँगुनारायणले होमस्टे कार्यविधि बनाउन थालेको दोस्रो नगरपालिका भएको स्मरण गर्दै मन्त्री श्रेष्ठको सक्रिय नेतृत्व क्षमताको प्रशंसा गर्नुभयो।
त्यस्तै, प्रबन्धनिर्देशक सुरज बास्तोला र निर्देशक चुडामणी पौडेलले संस्थाले केवल वार्षिक सभा मात्र होइन, दीर्घकालीन रूपमा पर्यटन प्रवर्द्धन र नेतृत्व विकासलाई निरन्तरता दिने उद्देश्य राखेको स्पष्ट पार्नुभयो।