
काठमाडौं । नेपाल आउने पर्यटकभन्दा विदेश जाने नेपालीहरूले बढी खर्च गर्ने गर्दछन् । एउटै अवधिमा नेपाल भित्रिने पर्यटक र विदेश जाने नेपालीले गर्ने खर्चको बीचमा ठूलो भिन्नता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ।
तथ्यांकअनुसार सन् २०२४/२५ को पछिल्लो ११ महिनामा साढे १० लाख पर्यटक नेपाल भित्रिदा ८२ अर्ब १९ करोड ८६ लाख रुपैयाँ रकम खर्च गरेका छन् । सोही अवधिमा विभिन्न उद्देश्यका लागि विदेश गएका नेपालीले विदेशी मुलुकमा २ खर्ब ३ अर्ब ९७ करोड २३ लाख रुपैयाँ खर्च गरेका छन् ।
समग्र व्यापार घाटाको तुलनामा सेवा व्यापार घाटा मात्र ८.७२ प्रतिशत हो ।
नेपाली नागरिकले यो रकम विदेश घुम्न, अध्ययन गर्न, उपचार गर्नलगायत अन्य शीर्षकमा खर्च गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ । यसले देशको सेवा व्यापार घाटा अझ गहिरिँदै गएको देखाउँछ । सेवा व्यापार घाटा भनेको विदेशीहरूले नेपालमा खर्च गरेको रकमभन्दा नेपालबाट विदेशमा खर्चिएको रकम बढी हुनु हो ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांक केलाउँदा पछिल्लो ११ महिनामा नेपालले एक खर्ब २१ अर्ब ७७ करोड ३७ लाख रुपैयाँ सेवा व्यापार घाटा व्यहोरेको देखिन्छ ।
पर्यटनमा चुकेको नेपाल
पर्यटन नेपालका लागि विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख माध्यम भनिए पनि पर्यटन क्षेत्रको विकासमा आवश्यक ध्यान पुग्न सकेको छैन । पर्यटक आए पनि लामो समय बस्दैनन् र उनीहरूले गर्ने खर्च निकै कम छ । संख्यात्मक हिसाबले पर्यटकको संख्या बढे पनि, पर्यटनको गुणात्मक वृद्धि हुन सकेको छैन ।
नेपाल अझैसम्म ‘सस्तो गन्तव्य’ को रूपमा चिनिन्छ, जसले थोरै बजेटमा आउने यात्रुलाई आकर्षित गरे पनि ‘प्रिमियम सेग्मेन्ट’ (त्यस्ता पर्यटक जसले धेरै खर्च गर्छ) लाई तान्न सकेको छैन ।
अर्थविद् नेपाल नेपालमा पर्यटकको बसाइ छोटो हुनु, पर्यटकले खर्च कम गर्नु जस्ता कारणले पनि नेपालको सेवा व्यापार ऋणात्मक देखिने गरेको बताउँछन् ।
नेपालमा पर्यटक कम समय बस्नु र कम खर्च गर्नुका केही मुख्य कारणहरू छन्, जस्तै, छोटो अवधिको ट्रेकिङ पर्यटनमा केन्द्रित हुनु, बजेट पर्यटकको उच्च हिस्सा, सीमित हवाइ सम्पर्क, र उच्चस्तरीय पूर्वाधारको अभाव । अधिकांश विदेशी पर्यटक ट्रेकिङ वा सांस्कृतिक अवलोकनका लागि नेपाल आउँछन्, र आफ्नो निश्चित कार्यक्रम सकिएपछि तत्काल फर्किन्छन्।
सेवा व्यापार घाटाको असर
समग्र व्यापार घाटा नै बढिरहेको अवस्थामा सेवा व्यापार घाटा बढ्नु भनेको विदेशी मुद्राको निकासी बढ्नु हो, जसले देशको विदेशी मुद्रा सञ्चितिमा सिधै दबाब पुर्याउँछ । यसले देशभित्रका महत्त्वपूर्ण सेवा क्षेत्रहरूमा, जस्तै शिक्षा, स्वास्थ्य सेवा र पर्यटन, पर्याप्त क्षमता नहुनु र सुधार आवश्यक भएको संकेत दिन्छ । जब नेपाली नागरिकहरू उच्च शिक्षा, उपचार र भ्रमणका लागि बाहिर जान्छन्, तब त्यसले घरेलु सेवाहरूप्रति निर्भरता कम गराउँछ र अर्थतन्त्रमा विदेशी निर्भरता बढाउँछ ।