भक्तपुरका नेवार समुदाय : गाथामग चह्रे पर्व मनाउँदै

साउन कृष्णपक्ष चतुर्दशीको अवसरमा आज भक्तपुरका नेवार समुदाय गाथामग चह्रे पर्व मनाउँदैछन् । विशेष गरी घरको स्वस्तीशान्तिका लागि भूतप्रेतलाई पूजा गरी मन्छाउने यस पर्व घण्टाकर्ण चतुर्दशीको नामले परिचित छ । गाथामग पर्वसँगै नेवार समुदायमा चाडपर्व सुरु हुने भएकाले यसलाई वर्षको पहिलो पर्वका रूपमा पनि लिइन्छ ।नेवार समुदायले हर्षोल्लासका साथ मनाउने गाथामग चह्रे नेवार समुदायको मौलिक पर्वमध्येको एक हो ।
गाथामग चह्रेको पूजा विधिपूर्वक गरे घरमा पितृदोषबाट मुक्त भई शान्ति कायम हुने र परिवारजनमा कुनै दानवी शक्तिको प्रभाव नपर्ने जनविश्वास छ । यसै विश्वासअनुरुप नेवार समुदायले गाथामग चह्रेमा बिहानै घरलाई लिपपोत गरी शुद्ध बनाउनुका साथै महादेव वा नायरायणको मन्दिर पुगेर जल ल्याई घरको सम्पूर्ण भागमा छर्केर चोखो बनाउने चलन छ । घर चोखो गर्न अगाडि दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकुँडा धोएर चोखो गर्छन् । जल नछर्केसम्म कसैले खान नहुने धार्मिक मान्यता छ ।