Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

विचार

राजनीतिक दलहरूको औचित्यमाथि प्रश्न

राजनीतिक दलहरूको औचित्यमाथि प्रश्न

Show us Love

विश्वभर राजनीतिक दलप्रति मानिसमा उदासीनता देखिन्छ। यो प्रवृत्ति देखेर राजनीति शास्त्रका विद्यार्थी पनि घोत्लिन थालेका छन्–के उनीहरूको विकल्प सम्भव छ?

आजका दिनमा, राजनीतिक दलको उपस्थितिबिना आधुनिक लोकतान्त्रिक शासन प्रणाली लगभग अकल्पनीय छ। तर, राजनीतिक दलहरू लोकतान्त्रिक अभ्यासमा सामेल नभएको, बरु राजनीतिक एकाधिकारमा मस्त रहेको विश्लेषण हुने गरेको छ। उनीहरूको सम्पूर्ण ध्यान सत्ता कब्जा गर्ने, प्रतिस्पर्धीलाई दबाउने र सार्वजनिक बहसलाई हेरफेर गर्नेमा केन्द्रित छ। यसले महत्त्वपूर्ण प्रश्न उब्जाउँछ–के हामीले दलगत प्रणालीमाथि गम्भीर भएर सोच्ने बेला आएको हो? किनभने उनीहरूले लोकतन्त्रका मूल्यमान्यतालाई संरक्षण र समर्थन गर्ने भनेर आफैले गरेको वाचासमेत तोडिरहेका छन्।

हामी राजनीतिक दल त्याग्न चाहन्छौं भने सो सम्भव छ?

विगतमा राजनीतिक दल मूल रूपमा लोकतान्त्रिक प्रणालीको हिस्सा थिएनन्। वास्तवमा, जेम्स म्याडिसन र जर्ज वासिंटनजस्ता अमेरिकी लोकतन्त्रका प्रारम्भिक नेताहरू राजनीतिक दलप्रति सशंकित थिए। उनीहरूले राजनीतिक दललाई ‘गुट’का रूपमा चिन्थे, तिनलाई विश्वास पनि गर्दैन थिए। सन् १७८७ मा, म्याडिसनको ‘फेडेरालिस्ट नम्बर १०’ नामक लेख प्रकाशित भयो। यस लेखमा उनले गुटको खतरामाथि लेखेका छन्। गुटलाई उनले स्वार्थीहरूको झुन्ड भनेका छन्।

म्याडिसनले त्यति बेला बहुदलवादी गणतन्त्रको वकालत गरेका थिए, जहाँ फरक–फरक एकाइले एक अर्कालाई जाँच गर्छन्। अर्थात्, विभिन्न जिम्मेवारीमा रहेका संस्थाहरूले एक अर्कालाई सन्तुलनमा राख्छन्। दलप्रति सकारात्मक दृष्टिकोण नभए पनि म्याडिसनले पछि थोमस जेफरसनसँग मिलेर डेमोक्रेटिक–रिपब्लिकन पार्टी शुरू गरेका थिए।

जर्ज वासिंटन पनि म्याडिसनको समर्थक थिए। उनलाई राजनीतिक दलप्रति अभिरुचि थिएन, यस कारण तटस्थ रहने प्रयास गरेका थिए। रोचकचाहिँ के भने उनी राष्ट्रपति भएकै समयमा अमेरिकामा पहिलो पटक दलीय प्रणालीको शुरूआत भएको थियो।

प्रसिद्ध राजनीतिक विचारक हन्ना एरेन्ड्टले पनि राजनीतिक दलको आलोचना गरेकी थिइन्। विशेष गरी आधुनिक लोकतन्त्रमा दलको संरचना र कामको सन्दर्भमा उनको चासो थियो। राजनीतिक दल केन्द्रित पुस्तक नलेखे पनि उनले आफ्ना महत्त्वपूर्ण लेखहरूमा यसप्रति गहन चिन्तन गरेकी छिन्। राजनीतिक दलहरू जसरी सत्तामा एकाधिकार जमाउँछन् र सार्वजनिक मुद्दालाई बेवास्ता गर्छन्, एरेन्ड्ट त्यसको खरो आलोचक थिइन्। उनको विश्वास थियो–सार्वजनिक बहस र निर्णय प्रक्रियामा नागरिकको सक्रिय सहभागिता रहनु हो वास्तविक राजनीति, आँखा चिम्लिएर कुनै दललाई मत दिनु वा निष्क्रिय कार्यकर्ता बन्नु होइन।

मानिसलाई राजनीतिमा सहभागी हुन प्रोत्साहित गर्ने संस्थाहरू (उदाहरणका लागि अमेरिकी क्रान्तिको समयमा त्यहाँको नगर परिषद्) को एरेन्ड्टले खुलेर प्रशंसा गरेकी थिइन्। उनलाई निराश बनाएको चाहिँ राजनीतिक दलको शक्ति केन्द्रिकरण गर्ने प्रवृत्तिले हो। उनलाई लाग्थ्यो–आधुनिक समयमा राजनीतिक दलले राजनीतिलाई केवल शक्ति आर्जन गर्ने माध्यम बनाएर राजनीतिक स्वतन्त्रतालाई कमजोर पार्छन्।

सबैभन्दा रोचक र शक्तिशाली आलोचना ‘सोसल कन्ट्रयाक्ट थ्योरी’का तीन मसिहामध्ये एक, जीन ज्याक्स रुसोको छ। रुसोको राजनीतिक आदर्श ‘जेनेरल विल’ हो, अर्थात् सामूहिक हितका निम्ति सामूहिक इच्छाशक्ति चाहिन्छ, जुन कुनै पनि लोकतान्त्रिक गणतन्त्रको सार हुनुपर्छ। तर, राजनीतिक दलले सामान्यतया विशिष्ट समूहको हितलाई प्राथमिकतामा राख्छन्, जसलाई ‘पर्टिकुलर वील’ पनि भन्न सकिन्छ। दलसँग ‘जनरल वील’लाई विकृत वा दबाउने प्रवृत्ति हुन्छ। त्यसका निम्ति उनीहरूले नागरिकलाई स्वार्थ समूहमा विभाजन गर्छन्, जसले साझा हितलाई भन्दा पक्षपातपूर्ण अजेन्डालाई प्राथमिकतामा राख्छ।

‘द सोसल कन्ट्रयाक्ट’ (भाग–४) को अध्याय १ मा रुसो लेख्छन्, ‘जब गुटहरू उत्पन्न हुन्छन्, जनरल वील स्पष्ट हुँदैन।’ भाग– २ को अध्याय ३ मा उनले भनेका छन्, ‘यदि साना समूहहरू ठूलो समूहहरूलाई हानि पुर्‍याउने तरिकाले सिर्जना गरियो भने प्रत्येक समूहले चाहेको कुरा आफ्नै सदस्यहरूको लागि ‘जनरल विल’ बन्छ, तर सम्पूर्ण राज्यको सन्दर्भमा ‘पर्टिकुलर वील’ मात्र हुन्छ।’

रुसो प्रत्यक्ष लोकतन्त्र (डाइरेक्ट डेमोक्रेसी) का कट्टर समर्थक थिए। यस्तो अभ्यासमा कानून र नीतिहरू जनप्रतिनिधिले नभई प्रत्यक्ष रूपमा जनताले बनाउँछन्। यो विशेष गरी साना राज्यहरूका निम्ति उपयुक्त हुन्छ। त्यस्ता ठाउँमा नागरिकले कानून निर्माण र सार्वजनिक मामिलामा प्रत्यक्ष सहभागी हुन सक्छन्। यस्तो प्रणालीमा राजनीतिक दलहरू अनावश्यक मात्र होइन, हानिकारकसमेत हुन्छन् भन्ने उनको तर्क छ, किनभने नागरिकहरूले पार्टी प्रतिनिधिको रूपमा होइन, समान हैसियतमा छलफल गर्नुपर्छ। त्यस्तै, ‘जनरल वील’ दलगत सम्झौता वा सौदाबाजीबाट होइन, आपसी सहमतिमा आधारित खुला र इमानदार छलफलबाट आउनुपर्छ।

प्रख्यात राजनीतिक विचारकहरूले प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्रलाई समर्थन गरेता पनि, बहुदलीय प्रणाली आधुनिक लोकतन्त्रको मुख्य मोडेल कसरी बन्न पुग्यो?

प्रायः बेलायत र अमेरिकामा १८ औँ शताब्दीको अन्त्य र १९ औँ शताब्दीको शुरूआतमा राजनीतिक दलहरू देखा पर्न थाले। तिनीहरू व्यावहारिक आवश्यकताबाट गठन भएका थिए। सांसदहरू साझा लक्ष्यलाई प्रवर्द्धन गर्न, विधायिकी कामको समन्वय गर्न र चुनाव जित्न समूहबद्ध भए। १९ औँ शताब्दीको मध्यतिर, नागरिकलाई मतदानको अधिकार दिइएपछि, राजनीतिक दलहरू ठूलो संख्यामा मतदातालाई संगठित गर्ने अत्यावश्यक औजार बने। वृहत् जनपरिचालन गर्ने, बढीभन्दा बढी उम्मेदवार खडा गर्ने, व्यापक सङ्गठनात्मक संरचना तयार पार्ने र बलियो नीतिगत आधार बनाउने आवश्यकता अचानक बढ्यो। त्यस कारण, लोकतन्त्र र राजनीतिक दल एक आपसमा गाँसिए। लोकतन्त्रले अनिवार्य रूपमा दलको माग गर्छ भनेर उनीहरू गाँसिएका होइनन्। बरु, लोकतन्त्रमा आउन सक्ने चुनौतीलाई व्यवस्थापन गर्ने अस्त्र बनेका थिए दलहरू।

अर्कोतर्फ, एक समयसम्म राजनीतिक दल र तिनका नेता नागरिकका निम्ति सूचना र चेतनाका संवाहक थिए। नेपालको सन्दर्भमा पनि यही थियो। त्यसले पनि समाजमा दलको आवश्यकता र स्वीकार्यता सहज बनेको थियो। हिजोआज त्यस्तो अवस्था छैन। सूचनाको माध्यम बदलिएका छन्।

लोकतान्त्रिक व्यवस्थामा जनचासोको सम्बोधन, स्पष्ट नीति निर्माण र  प्रभावकारी सरकार संचालनको आवश्यकता पर्छ। यस्ता उद्देश्य पुरा गर्न राजनीतिक दलको संरचना प्रयोग गर्नु उचित हुन्छ। यसका अतिरिक्त राजनीतिक दलहरूले को दोषी हो र को असल हो भनेर मतादातालाई बुझाउन सक्छन्। तिनीहरूले कानून र नीतिलाई अझ सुसंगत बनाउन सक्छन्। सरकार सञ्चालन गर्ने व्यवस्थित र स्थिर उपाय ल्याउन सक्छन्। यसका निम्ति उनीहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ।

आज अधिकांश मुलुकमा लोकतन्त्रले राम्रोसँग काम गरिरहेको छैन र दलीय राजनीति यो समस्याको अंग बनेको छ। दलहरू बीचको चरम विभाजन र असमझदारीले व्यवस्थापिका पंगु भएको छ। कुनै पनि सरकारले पूर्ण कार्यकाल काम गर्न पाएको छैन। नीतिगत अस्थिरता देखिएको छ। कृपावाद र राजनीतिक सिन्डिकेटले लोकतन्त्रलाई कमजोर पारेको छ।

नेपालमा, राजनीतिक दलहरूले नातावाद र कृपावादमार्फत यहाँका संस्थाहरूलाई दिन प्रतिदिन कमजोर बनाइरहेका छन्। निर्वाचनबाट चुनिएर आएका नेताहरूले नै प्रायः लोकतान्त्रिक मूल्यमान्यतालाई बेवास्ता गरेका छन्। उनीहरू शक्ति सन्तुलन तोड्न उद्यत छन्। कानूनी शासनको सम्मान नगर्ने पनि उनीहरू नै हुन्। अझ चिन्ताजनक के छ भने उनीहरूले यस्ता हर्कत पनि ‘जनताको इच्छा’ भन्दै गर्छन्। यसले वास्तवमा लोकतन्त्रलाई भित्रभित्रै मक्काउँछ र सक्काउँछ।

मुलुकमा असमानता र रोजगारीको असुरक्षा बढ्दै जाँदा, अहिले कतिसम्म भयो भने मान्छेहरू ‘राजतन्त्र फिर्ता ल्याउने’ मुद्दामा बहकिन थालेका छन्। फरक विचारमाथिको दमन, राजनीतिक चालबाजी, अल्पसंख्यकमाथि बहुमतको शासन, र वैयक्तिक स्वतन्त्रताको हस्तक्षेप स्वीकार्य हुन थाल्दा बहुदलीय लोकतन्त्र विघटनको नजिकझैँ देखिन्छ।

मानिसहरू त्यस्तो प्रणालीमा बाँच्न अभ्यस्त भइसकेका छन्, जहाँ भीडलाई पछ्याउँदा प्रशंसा र पुरस्कृत गरिन्छ। त्यसैले यहाँ प्रश्न आउँछ: के वास्तविक लोकतन्त्रको लागि हामीलाई बहुदलीय प्रणाली नै चाहिने हो? यदि ‘होइन’ भनिन्छ भने, सो विषय पनि सार्वभौम जनताकै कुरा हो र हामीले स्वीकार गर्नुपर्छ— हाम्रो सार्वभौमिकताले ठिकसँग काम गरिरहेको छैन।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *