चितवनको श्रीपुरमा सरल होमस्टे : प्राङ्गारिक खेतीसँगै ग्रामीण जीवनको स्वाद(फाेटाे फिचर सहित)

चितवन — भरतपुर–१५, श्रीपुरमा अवस्थित सरल होमस्टे प्राङ्गारिक खेतीसँगै ग्रामीण जीवनको अनुभव लिन चाहनेका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। होमस्टेका सञ्चालक चन्द्र प्रसाद अधिकारी पेशाले प्राङ्गारिक किसान हुन्। उनी जिल्ला प्राङ्गारिक संघ, चितवनका अध्यक्ष र प्राङ्गारिक कृषि उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत हुन्।

स्थानीय स्तरमा “प्राङ्गारिक कृषि उत्पादन केन्द्र / अर्गानिक घर” नामले चिनिने यस गृहस्थीमा अधिकारी परिवारले झण्डै ३५ वर्षदेखि प्राङ्गारिक खेतीको अभ्यास गर्दै आएको छ।

यस अवधिमा धान, गाजर, सुर्यमुखी, चुकन्दर लगायतका खेतीसँगै धान खेतमा माछा पालन, गड्यौला पालन, छानाको पानी संकलन गरेर माछा पालन जस्ता नवीनतम अभ्यास हुँदै आएका छन्। साथै यहाँ प्राङ्गारिक सिकाइ केन्द्र र अर्गानिक घर दर्ता जस्ता गतिविधिहरू पनि सञ्चालनमा छन्।

विगतमा स्वदेशी तथा विदेशी विद्यार्थीहरूले प्राङ्गारिक खेतीबारे अध्ययन र अनुसन्धान गर्न यहाँ आउने गरेका थिए। विशेषगरी WOOF (World Wide Opportunities on Organic Farms) मार्फत सम्पर्क बढेपछि औपचारिक रूपमा सरल होमस्टे दर्ता गरिएको हो।
यद्यपि, कोभिड–१९ महामारीपछि गतिविधि केही सुस्त भएका छन्। अहिले भने नेपाली विद्यार्थीहरू OJT (On the Job Training) र इन्टर्नसिपका लागि आउने गरेका छन्। उनीहरूले गाउँको जीवनशैली, खेतबारीको अभ्यास र अर्गानिक उत्पादनबारे प्रत्यक्ष ज्ञान लिन पाएका छन्।
चन्द्र प्रसाद अधिकारी

सञ्चालक अधिकारीका अनुसार, सरल होमस्टेमा आउने अतिथिलाई गाउँको आत्मीय स्वागत, प्राङ्गारिक उत्पादनको स्वाद र ग्रामीण जीवनको सान्निध्य एकैसाथ अनुभव गर्न सकिन्छ। उनले भने, “हामीले गर्दै आएको काम केवल खेती मात्र होइन, भविष्यको पुस्तालाई स्वास्थ्यप्रद जीवनशैली र वातावरणमैत्री उत्पादनको बाटो देखाउने प्रयास हो।”
सरल होमस्टेले गाउँमा बस्ने अतिथिलाई परिवारकै सदस्यझैँ आत्मीय अनुभव दिने मात्र होइन, शिक्षा, अनुसन्धान र पर्यटनलाई समेत जोड्ने माध्यमका रूपमा अघि बढिरहेको छ।




