लिम्बू र रिजालले पाएको त्यो सुवांगी

प्रायः लिम्बू गाउँ पुगेका ब्राह्मण लगायत अन्य जातिले सुवांगी पाएको भेटिंदैन, तैपनि पूर्व प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको जन्मथलो धनकुटाको सिभुवाका रिजालले लिम्बूसँगै सुवांगी पाएको देखिन्छ।
कक्षाकोठामा शिक्षक नआउँदासम्म सधैं हाँसीखुशी नै रहने भए पनि एकदिन कक्षा ८ का सहपाठी लोचनबहादुर भुजेल र सानबहादुर भुजेल अलि बढी खुशी देखिए। एक नेताबारे उत्साहका साथ बेलिबिस्तार लगाइरहेका थिए। दुवैले बारम्बार उच्चारण गरिरहेको नाम थियो, नगेन्द्रप्रसाद रिजाल। कुराकानीकै क्रममा उनीहरूले भने, “सिभुवाको उहाँको घर हामीले नै हेर्दै आएका छौं।”
लोचन र सानले नाम लिएका नेता रिजाल भर्खरै प्रधानमन्त्री नियुक्त भएका थिए। २०४३ सालको राष्ट्रिय पञ्चायतको चुनाव गराउन राजा वीरेन्द्रले २०४२ सालमा रिजाललाई प्रधानमन्त्री नियुक्त गरेका थिए। उनले गराएको चुनाव नै राष्ट्रिय पञ्चायतको अन्तिम निर्वाचन भयो।
त्यति खेर सूर्यबहादुर थापाको जगजगी थियो। धनकुटाबाट चुनाव जितेर प्रधानमन्त्री पदमा पुग्ने थापा मात्र होलान् भन्ने दिमागमा बसेको थियो। भर्खरै प्रधानमन्त्रीमा नियुक्त रिजाल पनि धनकुटाकै रहेछन् भन्ने थाहा पाउँदा चकित भएँ। जबकि रिजाल पहिलो पटक २०३० सालमै प्रधानमन्त्री भइसकेका थिए।
लोचन र सानको परिवारले पुस्तौंदेखि सिभुवाका रिजालहरूको सेवा गर्दै आएका रहेछन्। तिनै रिजालमध्येका अगुवा नगेन्द्रप्रसाद रिजाल दोस्रो पटक प्रधानमन्त्री हुँदा दुवै जना खुशी देखिन्थे।
त्यति वेला कक्षा ६ र ७ लाई निम्न माध्यमिक तह मानिन्थ्यो। निमावि छिचोलेर बाँकी पढाइका लागि गाउँका विभिन्न विद्यालयबाट धनकुटा बजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयमा भर्ना हुन आउँथे। कक्षा ८ मा नाम लेखाउनेमध्ये पारि तांखुवाबाट लोचन र सान पनि आएका थिए। म पनि धनकुटा नगरकै निमाविबाट लोचन-सानको सहपाठी हुन गोकुण्डेश्वरमा मिसिएको थिएँ।
वारि धनकुटा नगरबाट पारि हेर्दा तमोर नदीको किनारदेखि जुरुक्क उठेर उत्तरतिर तेर्सिंदै उक्लिंदै गरेको तांखुवा भेग छ। त्यो पहाडी शृंखला केही तेर्सिंदै केही उक्लिंदै जोरपाटीमा पुगेर हिलेबाट त्रिशूले हुँदै सिंधुवातिर लम्केको अर्को शृंखलामा ठोक्किएर ट्याप्प टाँसिन्छ। त्यही तांखुवा भेगको पहाडी शृंखलाको दक्षिणतिरको छेउ अर्थात् तमोर नदीदेखि जुरुक्क सीधा माथि उठेको गाउँको नाम हो, सिभुवा।
धनकुटा नगरबाटै हेर्दा पनि वारि रातोमाटे डाँडामा भव्य लाग्ने केही घर देखिन्छन्। सिभुवाको त्यही बस्तीमा जन्मेका हुन्, दुई पटक देशको प्रधानमन्त्री बनेका नगेन्द्रप्रसाद रिजाल। देशमै आफ्नो वंशजको नाम रोशन गराउने कालीप्रसाद, भोलाप्रसाद, मीनेन्द्रप्रसाद रिजालहरू पनि त्यही बस्तीका हुन्।
प्राचीन विरासतका दृष्टिले लिम्बूले बस्ती बसाएको सिभुवामा रिजालहरूले पनि मुखिया जिम्मावाल चलाएको इतिहास पाइन्छ। यस लेख मार्फत सिभुवाका रिजालहरूको विरासत खुल्ने इतिहासका केही पाना पल्टाउने जमर्को गरिएको छ।
रिजालको त्यो अविस्मरणीय काम
साहित्यकार ध.च. गोतामेको संस्मरण संग्रह छ, सम्झनाका गल्छेडाहरू। २०५५ सालमा प्रकाशित यस पुस्तकको १० र ११ पृष्ठमा आँखा पुगेपछि नेपाली राजनीतिक रंगमञ्चमा एउटा अनौठो पटाक्षेप भए जस्तै अनुभूति हुन्छ।
सरकारी अधिकारीको नाताले गोतामे २०३० सालमा प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको स्वकीय सचिवालयमा खटिएका रहेछन्। मन्त्रिमण्डल हेरफेर हुन लागेको सुइँको पाएपछि गोतामेले प्रधानमन्त्री रिजाललाई बडो धक फुकाएर बिन्ती बिसाएछन्, ‘प्रधानमन्त्रीज्यूमा मेरो विनम्र अनुरोध लाग्छ भने एक निरीह प्राणीलाई सहायक मन्त्रीमा राखिदिनुहुन्थ्यो कि?’

‘त्यो को हो?’ रिजालले सोधेछन्।
‘ती मेरा नाताकुटुम्ब कोही होइनन्,’ सहायक मन्त्रीका लागि बिन्ती बिसाएका व्यक्तिको नाम लिंदै गोतामेले भनेछन्।
गोतामले भनेका व्यक्तिको नामलाई पनि सूचीमा थपेर मन्त्रीहरूको नामनामेसीको कागज तत्काल राजदरबार पठाएपछि प्रधानमन्त्री रिजालले भनेछन्, ‘नाम त पठाइदिन्छु माथि, हुने नहुने उसको पुर्पुरोले गर्छ’ (गोतामे, सम्झनाका गल्छेडाहरू, २०५५ः१०)।
भेटघाटका लागि वेलावेला प्रधानमन्त्री रिजालका सालो हरिनाथ बास्तोला प्रधानमन्त्री निवास आइपुग्थे। दिनमा प्रधानमन्त्री निवासमा आउजाउ गरे पनि रात बिताउन बाहिर होटल वा लजतिरै जान्थे। उनै बास्तोलाले धरानको विजयपुरका हीरालाल विश्वकर्मासँग गोतामेको चिनजान गराइदिएका रहेछन्। बास्तोलासँगको सरसल्लाहमा दलित जातिका असल मान्छेलाई मन्त्री बनाउन सरसल्लाह गरेको गोतामेले पुस्तकमा उल्लेख गरेका छन्।
गोतामेसँग भेटघाट गर्ने हरिनाथ बास्तोला धरानकै नेपाली कांग्रेसका नेता हरिनाथ बास्तोला भने होइनन्। रिजालका सालो पर्ने यी बास्तोला झापाका बासिन्दा हुन्। उनी पछि अञ्चलाधीश पनि भएका थिए।
नेपालको राजनीतिक इतिहासमा २०३१ कात्तिक २५ गते सम्झना गर्नुपर्ने दिन हो। वर्णव्यवस्थाले कथित अछूत बनाएको एक व्यक्तिका लागि सिंहदरबारको ढोका खुल्यो। उनी हुन्, छुवाछूतविरोधी अभियानमा सक्रिय धरानको विजयपुरका हीरालाल विश्वकर्मा।
हेरफेर र थपघट गर्दा बनेको २१ सदस्यीय मन्त्रिमण्डलमा २१औं वरीयतामा शिक्षा सहायक मन्त्रीका रूपमा विश्वकर्माको नाम घोषणा गरिएको थियो (भैरव रिसाल र भरतराज पोखरेल, नेपालमा मन्त्री र सांसदहरू, २०७५ः२८-२९)। त्यो ऐतिहासिक काम गर्ने प्रधानमन्त्री थिए, धनकुटाको सिभुवाका उनै नगेन्द्रप्रसाद रिजाल।

सहायक मन्त्रीमा नाम घोषणा भए पनि विश्वकर्मा भने सम्पर्कविहीन भएका रहेछन्। नवनियुक्त मन्त्रीले आआफ्नो विभाग र मन्त्रालय सम्हालिसके पनि विश्वकर्माको अत्तोपत्तो नलागेको गोतामेले पुस्तकमा उल्लेख गरेका छन्। चार-पाँच दिन बितेपछि प्रधानमन्त्री रिजालले गोतामे लगायत स्वकीय सचिवालयका अधिकारीलाई डाकेर सोधेछन्, ‘खोइ तपाईंहरूको त्यो साथी? मन्त्री भएको सुन्नासाथ मानिसहरू जिल्लाबाट हाम फाल्दै आइपुग्छन्, यसको भने अहिलेसम्म चालचुल छैन। माथि सोधनी भो भने मैले के भन्ने? दमाईंकामीको संगत नुनतेलको खती भनेको यही हो।’
अञ्चलाधीशले धरानका प्रहरी लगाएर धुइँपत्ता लगाउँदा पनि मन्त्री विश्वकर्माको कुनै सुराक मिलेको रहेनछ। एकदिन साँझपख अञ्चलाधीशले गोतामेलाई फोन गरेर भनेछन्, ‘हीरालाललाई मन्त्री भएको सुन्नासाथ उनका गोतियाहरूको ठूलो हुलले उचालेर लगेछ। उनी तीन दिनसम्म सगुन खाँदाखाँदा इन्तु न चिन्तु भएका थिए रे। त्यहाँबाट फुत्केर बल्ल भोलि आउँदै छन् रे।’
सहायक मन्त्री विश्वकर्मालाई लिन गोतामे पनि विमानस्थल पुगेछन्। चिन्नै नसक्नेगरी विश्वकर्माको शरीरभरि अबीर पोतिएको गोतामेले आफ्नो संस्मरणमा उल्लेख गरेका छन्।
रिजुगाउँबाट फैलिएका रिजाल
दैलेखको रिजुगाउँबाट फैलिएका ब्राह्मणको एक समूह कालान्तरमा ‘रिजाल’ थरबाट चिनियो। रिजुगाउँ हाल दैलेखको दुल्लु नगरपालिका-५ मा पर्छ। यसै ठाउँबाट नेपालका विभिन्न क्षेत्रमा फैलिने क्रममा पूर्वी नेपाल आइपुगेका रिजालका सन्ततिमध्ये धनकुटाको सिभुवाका नगेन्द्रप्रसाद देशको प्रधानमन्त्री नै भए भने पाँचथरका गणेशप्रसाद रिजाल २०१५ सालमै चुनाव जितेर सांसद बनेका थिए।
दैलेख तथा दुल्लु क्षेत्र ऐतिहासिक स्थल हो। कुनै समयमा यो क्षेत्र खस राज्यको महत्त्वपूर्ण राजधानी थियो। दुल्लुमा रहेको कीर्तिस्तम्भले खस राजाहरूको साक्षात् इतिहास बोल्छ भने पञ्चदेवल मन्दिरले पुरानो सांस्कृतिक सभ्यता प्रतिबिम्बित गर्छ। रिजाल लगायत नेपालका अधिकांश ब्राह्मण समुदाय दुल्लु क्षेत्रबाट फैलिएको रणबहादुर शाहकालीन १८५२ सालको लालमोहरले देखाउँछ।

दुल्लु तथा दैलेखको चर्चा गर्दा कुनै वेलाको विशाल खस साम्राज्य पनि जोडिएर आउँछ। इतिहासकार धनवज्र वज्राचार्यले ‘गोपाल राजवंशावलीको ऐतिहासिक विवेचना (२०६४ः८३-८४)’ मा उल्लेख गरे अनुसार १२औं शताब्दीमा कर्णाली प्रदेशमा खस राजा नागराजले स्वतन्त्र राज्य खडा गरेका थिए। जहाँ एकसे एक योद्धा शासक निस्के। नागराजका उत्तराधिकारीहरू क्राचल्ल, अशोक चल्ल र जितारी मल्ल प्रसिद्ध भए। पूर्वजले सिंजाको पश्चिम, पश्चिमोत्तर र दक्षिणमा विस्तार गरेको राज्य पाएका राजा जितारी मल्ल चाहिं पूर्वतर्फ बढ्दै नेपाल उपत्यकासम्म आक्रमण गर्न पाइपुगेका थिए।
उनले विसं १३४४ पुसमा काठमाडौं उपत्यकामा पहिलो पटक आक्रमण गरेका थिए। त्यसपछि विसं १३४५ फागुनमा दोस्रो र विसं १३४६ फागुनमा तेस्रो पटक आक्रमण गरे। गोपाल राजवंशावलीमा जितारी मल्लको सेनाले नुवाकोट कब्जापछि देउपाटनमा प्रवेश गरी गाउँ गाउँमा आगो लगाई पाटनको किल्ला घेरेर बसेको उल्लेख छ।
यति प्रभावशाली खस राज्यका दुई वटा राजधानी थिए। शुरूआतमा खस राज्यका संस्थापक नागराजले जुम्लाको सिंजालाई राजधानी बनाए। उनका छैटौं उत्तराधिकारी राजा क्राचल्लको समयमा विराटपीट (दुल्लु)ले पनि खस राज्यको दोस्रो राजधानीको रूप लिएको थियो। त्यस वेला खस राज्यको ग्रीष्मकालीन राजधानी सिंजा र शीतकालीन राजधानी दुल्लु रहेको इतिहासकार सूर्यमणि अधिकारीले ‘कन्ट्रिब्यूशन्स टू नेपालिज स्टडीज’ (वर्ष ७ अंक १/२, डिसेम्बर १९७९-जून १९८०ः१७८)मा उल्लेख गरेका छन्।
दुल्लु क्षेत्रलाई राजधानी बनाउने राजा क्राचल्ल १२६४ सालमा गद्दीमा बसेको पाइन्छ। उनले आफूलाई ‘परमसौगात’ (बुद्धका ठूला उपासक) विशेषण लगाएका थिए। शैव धर्मको पनि उत्तिकै आदर गर्थे। कुमाउ बालेश्वरको उनको अभिलेखमा मुकाम श्रीसम्पन्न दुल्लु नजीकको शहर उल्लेख गरिएको छ। त्यसबाट क्राचल्लको समयमा दुल्लुमा बस्ती बसेर सम्पन्न पनि भइसकेको देखिन्छ (धनवज्र वज्राचार्य, पूर्णिमा, पूर्णांक ६-साउन २०२२ः१९-२०)।
यससँगै नागराजले स्थापना गरेको कर्णालीको खस वंशको राज्यमा १३ पुस्ताले राज्य गरेको पनि वज्राचार्यले उल्लेख गरेका छन्। तीमध्ये पृथ्वी मल्ल अन्तिम खस राजा थिए।
चौधौं शताब्दीको उत्तरार्द्धमा आइपुग्दा खस राजाहरू पृथ्वी मल्ल र अभय मल्लको समयमा शासन सञ्चालनमा सामन्तको ठूलो हात थियो। राजा कमजोर भएको मौका पारी सामन्त मलय बर्माले राज्य सञ्चालनमा एकाधिकार कायम गरेको पाइन्छ।
मलय बर्माको देहान्तपछि उनका छोराहरूले सल्यान, जाजरकोट, रुकुम र दैलेखलाई भागबन्डा लगाएको पाइन्छ। त्यसपछि जुम्लामा कल्याल वंशका बलिराजले हैकम जमाए।
खसहरूमध्ये रास्कोटी वंशजले दुल्लु र दैलेखमा, चन्द परिवारले प्यूठानमा र समालवंशीले अछाम, सल्यान, गोताम (रुकुम), बाग्लुङ, गलकोट र जाजरकोटमा राज्य स्थापना गरे। कर्णाली प्रदेशमा २२ राज्य रहेकाले यस क्षेत्रलाई बाइसे राज्य भनिएको हो (डा. पेशल दाहाल, नेपालको इतिहास, २०५७ः१२७)।
बहादुर शाहको नायबीकालमा बाइसे राज्य अन्तर्गत पर्ने दुल्लु तथा दैलेख १८४७ सालमा नेपाल राज्यमा गाभिए। दुल्लु कब्जा गर्न सरदार अमरसिंह थापा, कप्तानहरू गोलैया र रणवीर खत्री तथा सरदार शत्रुसाधन शाही दुई कम्पनी फौज लिएर पुग्दा कास्कीका द्वारे जयभद्र बोहरा पनि आफ्नो नेतृत्त्वमा अमरसिंह थापालाई सघाउन सैनिक लिएर आइपुगेको प्राचीन नेपाल (संख्या २४, साउन २०३०ः१)मा उल्लेख छ। उनीहरूले पहिले सुर्खेत र त्यसपछि दुल्लुलाई कब्जा गरेका थिए।
दुल्लु क्षेत्रको रिजुगाउँमा रिजाल ब्राह्मणको आवाद थियो। यस क्षेत्रमा विभिन्न ब्राह्मण समूहलाई खस राजा जितारी मल्ल र पछि मलय बर्मा (बम)ले बसोबासको उचित व्यवस्था गरिदिएको इतिहास छ। इतिहास अन्वेषक नारायण नेपाल (नुवाकोट)बाट प्राप्त राजा रणबहादुर शाहकालीन लालमोहरले त्यसको पुष्टि गर्छ।
विसं १८५२ भदौ वदी १३ रोज ६ मा जारी गरिएको लालमोहरमा दुल्लुका १५ ब्राह्मण समूहलाई भोगचलन गर्दै आएको बिर्ता जग्गाको थमौती गरिएको उल्लेख छ। यसरी बिर्ता थमौती भई पुरेत्याइँको अधिकार पाउने ब्राह्मण समूहमा आचार्य, हुमागाईं, नेपाल, पोखरेल, लम्साल, दहाल, रिमाल, बयलकोटी, भट्टराई, कोइराला, भुर्तेल, बस्ताकोटी, सापकोटा र खरालसँगै रिजाल पनि रहेका थिए। यसबाट पनि रिजालको उद्गम दुल्लु रहेको देखिन्छ।
लालमोहरमा ‘…तिमी ब्राह्मणहरूको पुर्खालाई अघिका जितारी मल्ल मलय वम राजाले सिलापत्र तांवापत्र लेषि …साक्षि राषि विर्ता वितलव गरि दियाको राजा राजाले नहर्याको हिजोका किलाभित्र आजसम्म चलन चलि आयाको जग्गा आज हामिले पनि थामि वक्सौ तिमि वितलवका ब्राह्मणहरूले तांहांका अघि अघिका राजालाई ज्या रितले मान्दथे आज पनि तेस जग्गाका अमालिलाई परापुर्वदेषि मानि आयाका रितले प्रोत्या गर’ भन्ने रहेको छ।
यसरी हेर्दा खस राजा जितारी मल्लको समयमा ती ब्राह्मण समूहले तत्कालीन खस राज्यमा पर्ने दुल्लु दैलेख क्षेत्रमा आवादी व्यवस्थित गर्ने अवसर पाएको बुझिन्छ। पछि खस राजालाई विस्थापित गरी उदय भएको अर्को वंशका राजा मलय बर्मा (मलय बम) र उनको वंशका राजाले पनि जग्गाजमीनको थमौती गरिदिएको देखिन्छ।
जितारी मल्लको राज्यकालको ज्ञात समय १३४४ देखि १३५६ साल रहेको अन्वेषक अच्युत अधिकारीले ‘जर्नल अफ डेभ्लोपमेन्ट’ (वर्ष ७, अंक १, जनवरी २०२२ः४९)मा प्रकाशित गरेको अन्वेषणात्मक लेखमा उल्लेख छ। यसका आधारमा हेर्दा रिजाल लगायत माथि उल्लिखित लालमोहर प्राप्त ब्राह्मण समूहले यही अवधिमा दुल्लु दैलेख क्षेत्रमा आवादी व्यवस्थित गर्ने अवसर पाएको अनुमान लगाउन सकिन्छ।
लिम्बू बस्तीका रिजाल
नेपालको पूर्वी भेगतिर पनि फैलिने क्रममा रिजालहरू धनकुटा आइपुगेको देखिन्छ। उनीहरू कहिले धनकुटा आइपुगे भन्ने प्रामाणिक दस्तावेज नभेटिए पनि केही व्यक्तिसँगको कुराकानीका आधारमा आकलन गर्ने प्रयास गरेको छु।
बाजे पुस्ताबाट सुनेका आधारमा धनकुटाका नेत्रप्रसाद रिजालले केही जानकारी दिएका थिए। आमाका साथ लागेर तीन भाइ रिजाल धनकुटा आइपुगेको चन्द्रप्रसादले सुनाए। तीमध्ये एक जना सिभुवा, दोस्रो भोजपुरको च्यांग्रे र तेस्रो धनकुटामै बसेको कथन छ।
अर्को पाटोबाट पनि हेर्न सकिन्छ। एक कारिन्दाका रूपमा देउऋषि आचार्य लमजुङबाट नुवाकोट, त्यसपछि काठमाडौं हुँदै धनकुटा पुगेको ‘आचार्य वंशावली’ (२०७०ःभूमिका)मा उल्लेख छ। उनको विवाह सिभुवाका रिजाल जैसीकी छोरीसँग भएको थियो।
देउऋषिले विसं १८७१ असोज सुदी १२ रोज ५ मा बन्चरेका लिम्बू सुब्बा तुम्याहाङजित राय, कारवारी बोलिवन्त लिम्बू र कृष्णध्वज लिम्बूसँग एक धर्म मुचुल्का गरी त्यस क्षेत्रमा बसोबास शुरू गरेका थिए। त्यस मुचुल्कामा ‘त्यहाँका लिम्बूहरूले बनाएको धर्मकीर्ति चौताराको दुईतले सत्तलमा बसेर देउऋषि आचार्यले नूनको व्यापार गर्ने र गाउँको ज्वानो, मेथी जम्मा गरेर पटना लगेर बेच्ने’ भन्ने रहेको ‘आचार्य वंशावली’ (२०७०ःपरिशिष्ट)मा उल्लेख छ। धर्म मुचुल्का अनुसार देउऋषिका बाजेको नाम सुकदेव र बुबाको नाम विसम् जैसी थियो।

यसरी देउऋषिले सिभुवाकी रिजालकी छोरीसँग विवाह गरेको प्रसंग केलाउँदा १८७१ सालतिरै रिजालहरूले सिभुवामा आवादी व्यवस्थित गरिसकेको अनुमान गर्न सकिन्छ। सिभुवाका रिजाल र आचार्य दुवै जैसी उपवर्गका ब्राह्मण हुन्।
लिम्बूसँगै रिजाललाई सुवांगी
सिभुवाका रिजालका पुरोहित खलक त्यहींका मिश्र ब्राह्मण हुन्। तिनैमध्ये पर्छन्, गोकुण्डेश्वर बालमन्दिर माविका पूर्व प्रधानाध्यापक दामोदर मिश्र। उति वेलै लिम्बू सुब्बालाई जस्तै रिजाललाई पनि मुखिया जिम्मुवालको मानभाउ दिने गरिएको मिश्र बताउँछन्। रिजालहरूले सिभुवा क्षेत्रमा तोकिएको सुवांगी चलाउँथे।
उनीहरूको पुरेत वर्ग भएकाले मिश्रले पनि मुखिया जिम्मावालले झैं झारा खेताला जस्ता केही सुविधा पछिसम्म पाएका थिए। त्यही छेउछाउको तांखुवा बन्चरेमा तुङघङ (तुम्बाहाङ) लिम्बूको सुवांगी थियो।
लालमोहर पाउने लिम्बू सुब्बामा शहरसिंह राय खजुम थरका लिम्बू पनि थिए। अर्का मंजित राय सम्भवतः तुङघङ (तुम्बाहाङ) थरका लिम्बू हुन्। शहरसिंह राय खजुम थरका लिम्बू भएको प्रमाणका रूपमा ऐतिहासिक महेशराज पन्तले पूर्णिमा (पूर्णांक ९५, कात्तिक २०५५ः५५)मा प्रकाशन गरेको विसं १८७१ कात्तिक वदी ९ रोज १ मा जारी लालमोहरलाई लिन सकिन्छ। यस लालमोहरमा सुभामुखी, ञ्युंसामुषी, खेम्साबोन्द र तुम्याङ्जित सहित लिम्बू सुब्बाहरूलाई प्रदान गरिएको सुवांगीमा शहरसिंहको नाम ‘षुजुम् सहर्सिं राइ’ लेखिएकाले उनी खजुम थरका लिम्बू रहेको स्पष्ट हुन्छ।
खासगरी खजुम र तुङघङ (तुम्बाहाङ) लिम्बूहरूले सुवांगी चलाउँदै आएको छथर थुमको सिभुवा क्षेत्रमा रिजाललाई पनि सुवांगी प्रदान गरिएको थियो। लिम्बू सुब्बा सहित रिजालका अगुवा विसन रिजाललाई प्रदान गरिएको लालमोहरमा आवश्यक सुरक्षाका लागि बन्दूक, खुँडा, धनुकाँड लगायत हतियार पनि प्रदान गरिएको थियो। लालमोहरमा सुवांगी अधिकार पाउनेले निर्वाह गर्नुपर्ने तिरो उठाएर राज्यलाई बुझाउनुपर्ने जस्ता सामान्य कार्यसँगै आवश्यक परेमा राज्यका लागि युद्ध लड्नुपर्ने अवस्था आएमा गाउँलेलाई तयार गरेर आफू पनि सामेल हुन सम्झाइएको छ।

यो लालमोहरबारे इतिहास अभियन्ता तथा मुन्धुमविद् भरत तुङघङले जानकारी दिएका थिए। उनी यस क्षेत्रका किपटिया लिम्बू सुब्बाका सन्तति हुन्। छथर जोरपाटी गाउँपालिका-३, बन्चरेका तुङघङको २०७४ मंसीर ११ गते धरानमा सडक दुर्घटनामा परी ४८ वर्षको उमेरमा देहान्त भयो। उनको देहान्तले इतिहास र मुन्धुमको क्षेत्रमा ठूलो क्षति हुन पुग्यो।
लिम्बूगाउँ सिभुवामा रिजालहरूले पाएको सुवांगीको लालमोहरको बेहोरा
स्वस्तिश्री गिरिराजचक्रचुडामडिा नरनारायणेत्यादि विविध विरुवावलि विराजमान मानोन्नत श्रीमन्महाराजाधिराज श्री श्री श्री राजेन्द्रविक्रम साह वहादुर सम्सेर जङ् देवानां सदा समर विजयिनाम्-
आगे मुकुन्द रायको नाति वेन्तु रायको छोरा सहरसिं राय लोक्सु रायको नाति कुम्यांमुयेको छोरा मंजित राय राजन जैसीको नाति धरनी जैसीको छोरा विसन जैसी रिजाल २५ षुडा १५ वन्दुक ८० धना १३ कटारी फर्सा १० वक्स भयो अव र्उप्रान्तको झारा माफ गरी साल ८५ देषि घरही हल चल्ने घर १ को रु. १ पाषा घरका १ को रुपैया १ कोदाला घर १ को रु.।। का दरले आ-आफना गार्उ घरका झारा वापतको मोहर रुपैंया तिर्नु झारा वापत रुपैया सुवा थरी मुषियाहरुले असुल तहसील गरी मंसिर महिनामा साल वसाल तहसीदार मार्फत १ कंपुलिटारमा दाषील गरी फार्षतीको रसीद लिनु घरदर दवाये छिपाये डंड पर्ला आफना अम्वलका षेत कुला वाध तार घाट विग्रदा आ आफ्नो अम्वलको आफैले बनार्उनु लडाई भिडाइको काम पारी आयेमा आ आफ्ना गार्उ घरका सुवा थरी मुषीयाले सव गार्उल्या तक जम्मा गरी र्उक्त हामीले वक्स्याको पंच हतियार लिई हाम्रा भारदारहरु संग सामेल हुन जानु हाम्रा भारदारले जौन मुषवाट लडार्उनन र्उन मुषवाट लडनु लाया अह्याको काममा रुजु रहि वडो तत्विरसंग काम गर्नु भनी छथर मध्ये सिभुवान सुवाका सुभांगी पथरीको लालमोहर वक्स्यौं आफना षातिरज्मा संग सुभांगी जानी भोग्य गर. ईति सम्वत् १८८४ साल. मिति चैत सुदी १५ रोज २ शुभ्म्—।
यसबाट सिभुवाका रिजालले लिम्बूसँग मिलीजुली सुवांगी पाएका थिए भन्ने पुष्टि हुन्छ। यता धनकुटा नगरमा रहेको निगाले क्षेत्रका रिजालहरूले भने कारोबारीको जिम्मा पाएका थिए। त्यस क्षेत्रमा आठपहरिया राईहरूको परम्परागत किपट जिम्मा थियो। आठपहरिया राईमध्येको लाकुरे क्षेत्रका भक्तबहादुर राई त्यहाँका किपटिया जिम्मावाल थिए।
त्यस क्षेत्रको तिरो उठाएर रसिद काटी भक्तबहादुरलाई बुझाउने जिम्मा चन्द्रप्रसाद रिजालले पाएका थिए। उता भोजपुर च्यांग्रे क्षेत्र पुगेका रिजालहरूले केकस्ता जिम्मेवारी पाएका थिए भन्नेबारे सोधीखोजी गर्न बाँकी छ।
सामान्यतया बसोबासका लागि लिम्बू गाउँ पुगेका ब्राह्मण लगायत अन्य जातिले सुवांगी नै पाएको हत्तपत्त भेटिंदैन। तर सिभुवा पुगेका रिजालले लिम्बू सुब्बासँग मिलिजुली सुवांगी पाएको इतिहास भेटिएको छ।