मोहक तिम्बुङ पोखरी, यात्रुहरूको पहिलो रोजाइ

ताप्लेजुङ – समुद्र सतहदेखि ४,३५० मिटर उचाइमा अवस्थित तिम्बुङ पोखरी पछिल्लो समय पूर्व नेपालको प्रमुख पर्यटकीय आकर्षण बन्दै गएको छ। पर्यटकहरूबीच ‘पूर्वको गोसाइँकुण्ड’ नामले चिनिने यो पोखरी ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोला र पाँचथरको याङवरक गाउँपालिकाको सङ्गमस्थलमा पर्दछ।पर्यटन व्यवसायी अमिर राईका अनुसार गत वर्ष मात्र करिब ३ हजार पर्यटक तिम्बुङ पोखरी पुगेका थिए। तथ्याङ्क राख्न सुरु गरिएको पाँच वर्षअघि वार्षिक ७ सयको हाराहारीमा सीमित रहेको पर्यटक संख्या हरेक वर्ष बढ्दै गएको छ। अहिले ताप्लेजुङसँगै सिक्किम, सुनसरी, झापा, पाँचथर, तेह्रथुम, धनकुटाजस्ता स्थानबाट पर्यटक आउने गरेका छन्।
प्रकृति र जडीबुटीको खानी
करिब ४०० मिटर लामो र २०० मिटर चौडा पोखरीको गहिराइ अझै पत्ता लागिसकेको छैन। चैतदेखि मङ्सिरसम्म यहाँ भ्रमण गर्ने उपयुक्त समय मानिन्छ। विशेषगरी साउन महिनामा रङ्गीचङ्गी फूलहरूले पोखरी क्षेत्र सजाउँदा पर्यटकको भीड नै बढ्छ।
यस क्षेत्रमा क्यान्जो, माइकोपिला, सुनाखरीलगायत फूलहरू मात्र होइन, यार्सागुम्बा, पाँचऔंले, पदमचाल, चिराइतो, कुड्की लगायतका औषधिजन्य जडीबुटी पनि पाइन्छन्। कालिखोलाका धनबहादुर लिम्बूका अनुसार यी जडीबुटी स्थानीय जीवनशैलीसँगै आयआर्जनमा समेत टेवा पुर्याउने स्रोत बनेका छन्।

संरचना विकास र चुनौती
तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिले हालै पोखरी जाने बाटोमा तीनवटा विश्राम स्थल निर्माण गरेको छ। स्थानीयस्तरमा सडक र होटल सुविधा भए अझ बढी पर्यटक भित्र्याउन सकिने राईको भनाइ छ। हाल कालिखोलाबाट पैदल एक दिनको यात्रा गरेर पोखरी पुगिन्छ।पोखरी वरिपरि शिव पोखरी, सूर्य कुण्ड, दुध कुण्ड, हाँस पोखरी, मयुर पोखरी, नीर पोखरी लगायत १८ वटा साना–ठूला पोखरी रहेका छन्, जसले यो क्षेत्रलाई अझ आकर्षक बनाएको छ।
पर्यटन प्रवर्द्धनका प्रयास
तिम्बुङ पोखरीको प्रचारका लागि ट्रेल रन प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको थियो। तर देशमा उत्पन्न असामान्य परिस्थितिका कारण उक्त प्रतियोगिता स्थगित गर्नुपर्यो। करिब ५० धावक सहभागी हुन नाम दर्ता गराए पनि कार्यक्रम रद्द भएपछि सहभागी तथा स्थानीय प्रतिनिधिहरूले पोखरी अवलोकन गरेर फर्किनुपरेको थियो।
होमस्टे र ग्रामीण पर्यटनको सम्भावना
तिम्बुङ पोखरी क्षेत्रका बासिन्दाले होमस्टे सञ्चालन गर्न सकेमा पर्यटकलाई ग्रामीण आतिथ्य अनुभव दिलाउन सकिने देखिन्छ। स्थानीय संस्कृति, रैथाने खाना र जडीबुटीसँग जोडिएको जीवनशैली पर्यटनको नयाँ सम्भावना बन्न सक्छ।पोखरीले पूर्व नेपालको पर्यटन मात्र होइन, ग्रामीण भेगको आर्थिक समृद्धिमा पनि टेवा पुर्याउने अपेक्षा गरिएको छ।