शे–फोक्सुण्डोमा आतिथ्य, सरसफाइ तथा सांस्कृतिक सेवा क्षमता अभिवृद्धि तालिम भव्य रूपमा सम्पन्न ।
डोल्पा, शे-फोक्सुण्डो गाउँपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्ड (NTB) र UNDP को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (Sustainable Tourism Project–STP) अन्तर्गत साना होटल, लज तथा होमस्टे सञ्चालकहरूका लागि आयोजित “आतिथ्य, सरसफाइ तथा सांस्कृतिक सेवा क्षमता अभिवृद्धि तालिम” शे–फोक्सुण्डो गाउँपालिका–८, रिग्मो गाउँ, डोल्पामा २०८३ असार १५ गतेदेखि २१ गतेसम्म सफलतापूर्वक सम्पन्न भएको छ।

सात दिनसम्म सञ्चालन भएको उक्त तालिममा ३३ जना होटल, लज तथा होमस्टे सञ्चालक तथा पर्यटन व्यवसायीहरूको सक्रिय र उत्साहजनक सहभागिता रहेको थियो ।

तालिममा होमस्टे महासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष श्री सुरज बास्तोलाले प्रमुख प्रशिक्षकका रूपमा आतिथ्य सेवा, सरसफाइ तथा स्वच्छता, खाद्य सुरक्षा, कोठा व्यवस्थापन, सांस्कृतिक सेवा, स्थानीय परिकार प्रवर्द्धन, अतिथि व्यवस्थापन तथा गुणस्तरीय सेवा प्रवाह सम्बन्धी विषयमा व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गर्नुभयो। त्यसैगरी होमस्टे महासंघ नेपालका सदस्य श्री राजेश्वर लामिछानेले कार्यक्रमलाई प्रभावकारी सहजीकरण गर्दै तालिमलाई थप उपलब्धिमूलक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

तालिम समापन कार्यक्रम रिग्मो गाउँकै साझा उत्सवका रूपमा सम्पन्न भएको थियो । कार्यक्रममा शे–फोक्सुण्डो गाउँपालिकाका जनप्रतिनिधिहरू, गाउँपालिकाका कर्मचारीहरू, फोक्सुण्डो पोस्टबाट नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय निकुञ्जका कर्मचारीहरू, स्वास्थ्य संस्थाका कर्मचारीहरू, शिक्षक, विद्यालय व्यवस्थापन समिति, आमा समूह, पर्यटन व्यवसायी तथा रिग्मो गाउँका स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैले यस्ता सीपमूलक तालिमले स्थानीय पर्यटनको गुणस्तर वृद्धि, रोजगारी सिर्जना तथा समुदायको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

समापन कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गरी शे–फोक्सुण्डो क्षेत्रका होटल, लज तथा होमस्टेहरूको सेवा स्तरलाई राष्ट्रिय मापदण्ड अनुसार विकास गर्दै दिगो पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

यस तालिमले शे–फोक्सुण्डो क्षेत्रको पर्यटन सेवाको गुणस्तर अभिवृद्धि गर्नुका साथै स्थानीय संस्कृति, आतिथ्यता र सामुदायिक सहभागितामार्फत “दिगो पर्यटन, समृद्ध समुदाय” भन्ने उद्देश्यलाई थप सशक्त बनाउने विश्वास लिइएको छ ।

