२७ असोज २०८३ (मंगलवार)

आशापुरी तामाङ सामुदायिक होमस्टेको औपचारिक शुभारम्भ : भक्तपुरको ग्रामीण पर्यटनमा नयाँ आशा

•
१६ साउन २०८३, सोमवार
आशापुरी तामाङ सामुदायिक होमस्टेको औपचारिक शुभारम्भ : भक्तपुरको ग्रामीण पर्यटनमा नयाँ आशा

भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोल अन्तर्गत डोलेश्वर र आशापुरी मन्दिरको बीचमा रहेको नैचाल मा आशापुरी तामाङ सामुदायिक होमस्टे औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय तामाङ समुदायको संस्कृति, परम्परा र आतिथ्यलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ सुरु गरिएको होमस्टेले भक्तपुरको ग्रामीण पर्यटनमा नयाँ सम्भावना थपेको छ।

DSC00121.JPGहोमस्टे सञ्चालनको अवसरमा आयोजित परिचयात्मक कार्यक्रम तथा सांस्कृतिक सामग्री हस्तान्तरण समारोह मा सूर्यविनायक नगरपालिका–८ का वडा अध्यक्ष पुष्पराज बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने कार्यक्रमको अध्यक्षता आशापुरी तामाङ सामुदायिक होमस्टेका अध्यक्ष अजय बहादुर तामाङ ले गरेका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पर्यटनकर्मी, होमस्टे अभियन्ता, पत्रकार तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। विशेष गरी एक दर्जनभन्दा बढी पत्रकारको उपस्थिति ले कार्यक्रमप्रति सञ्चारमाध्यमको चासो पनि देखाएको थियो।

“होमस्टेले गाउँमै रोजगारी सिर्जना गर्छ” – वडा अध्यक्ष बस्नेत

Screenshot 2026-08-02 180135.png

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पुष्पराज बस्नेत ले होमस्टेले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धिको आधार निर्माण गर्ने विश्वास व्यक्त गरे।

उनले भने, “होमस्टे स्थापना गर्नु मात्र ठूलो उपलब्धि होइन, त्यसलाई निरन्तर सञ्चालन गर्दै गुणस्तरीय सेवा दिनु अझ महत्वपूर्ण हो।”

उनका अनुसार स्थानीय युवालाई सीप, सिर्जना र उद्यमशीलतासँग जोडेर वैदेशिक रोजगारीको बाध्यता कम गर्ने उद्देश्यले नगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। स्थानीय उत्पादन, संस्कृति र आत्मीय आतिथ्यलाई पर्यटनसँग जोड्न सके आर्थिक विकासले तीव्र गति लिने उनको भनाइ थियो।

“देशकै नमुना होमस्टे बनाउने लक्ष्य” – अध्यक्ष अजय बहादुर तामाङ

Screenshot 2026-08-02 180636.png

कार्यक्रमका अध्यक्ष अजय बहादुर तामाङ ले होमस्टे स्थापना गर्नुअघि गरिएको लामो तयारी, स्थानीयवासीको सहकार्य तथा समुदायको साझा प्रयासबारे जानकारी गराउँदै आशापुरी तामाङ सामुदायिक होमस्टेलाई भविष्यमा देशकै नमुना होमस्टेका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।

उनले पाटीभञ्ज्याङ क्षेत्रलाई नेपालको उत्कृष्ट ग्रामीण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्थानीय समुदायलाई पर्यटनसँग जोडेर आत्मनिर्भर बनाउने अभियानमा सबैलाई साथ दिन आग्रह गरे।

२ लाख बराबरका २७ सेट सांस्कृतिक सामग्री हस्तान्तरण

Screenshot 2026-08-02 175857.pngकार्यक्रममा वडा कार्यालयको लगानीमा करिब दुई लाख रुपैयाँ बराबरका २७ सेट सांस्कृतिक सामग्री होमस्टेलाई हस्तान्तरण गरिएको थियो।

हस्तान्तरण गरिएका सामग्रीमा डम्फु, मादल, खैजडी, झ्याली लगायत तामाङ समुदायको सांस्कृतिक पहिचान झल्काउने सामग्री रहेका छन्। यी सामग्रीले मौलिक संस्कृति संरक्षणसँगै पर्यटकलाई जीवन्त सांस्कृतिक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

२७ घर आबद्ध, १५० पाहुना बस्न सक्ने क्षमता

WhatsApp Image 2026-08-03 at 7.41.52 AM.jpegहोमस्टेका अध्यक्ष अजय बहादुर तामाङ का अनुसार हाल २७ वटा घर सामुदायिक होमस्टेमा आबद्ध छन्। यहाँ एकैपटक करिब १५० जना पाहुनालाई आतिथ्य प्रदान गर्न सकिने क्षमता रहेको छ।

काठमाडौं उपत्यकाभित्रै प्राकृतिक वातावरण, धार्मिक सम्पदा र तामाङ संस्कृतिको संगम रहेको यो क्षेत्र ग्रामीण पर्यटनका लागि आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ।

पर्यटन विज्ञ र होमस्टे अभियन्ताको विश्वास

WhatsApp Image 2026-08-03 at 7.41.53 AM (1).jpegकार्यक्रममा होमस्टे महासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष सुरज बास्तोला, पूर्व अध्यक्ष केशव बडाल, राजकुमार लामिछाने, वडा सदस्य विक्रम तामाङ, सावित्री मिश्र, अञ्जना नेपाली लगायतले होमस्टेले ग्रामीण पर्यटन विस्तार, स्थानीय आयआर्जन वृद्धि तथा मौलिक संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

संस्कृति र आतिथ्यको अनुपम संगम

कार्यक्रममा तामाङ परम्पराअनुसार अतिथिहरूलाई आत्मीय स्वागत गरिएको थियो। स्थानीय कलाकारहरूले प्रस्तुत गरेका मौलिक तामाङ गीत, नृत्य, डम्फु र सांस्कृतिक बाजागाजाले कार्यक्रमलाई थप जीवन्त र आकर्षक बनाएका थिए।

Screenshot 2026-08-02 180436.pngआयोजकका अनुसार तामाङ समुदाय आफ्नो सरलता, इमान्दारिता र आत्मीय आतिथ्य का लागि परिचित भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पाहुनाले मौलिक ग्रामीण जीवन, स्थानीय संस्कृति र पारिवारिक वातावरणको अविस्मरणीय अनुभव गर्नेछन्।

ग्रामीण पर्यटनको नयाँ अध्याय

औपचारिक रूपमा सञ्चालनमा आएको आशापुरी तामाङ सामुदायिक होमस्टे ले भक्तपुरको पर्यटन नक्सामा नयाँ गन्तव्य थपेको छ। स्थानीय संस्कृति संरक्षण, रोजगारी सिर्जना, महिला सशक्तीकरण, स्थानीय उत्पादनको बजारीकरण तथा दिगो ग्रामीण पर्यटन विकासमा यो होमस्टेले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

फोटो : कार्यक्रममा तामाङ समुदायका कलाकारहरूले मौलिक नृत्य प्रस्तुत गर्दै, डम्फु र परम्परागत बाजागाजासहित आशापुरी तामाङ सामुदायिक होमस्टेको शुभारम्भ समारोहलाई जीवन्त बनाउँदै।

DSC00116.JPGDSC00135.JPG