२७ असोज २०८३ (मंगलवार)

तानसेन होमस्टे समितिको सातौं साधारण सभा सम्पन्न।

•
२७ असोज २०८३, मंगलवार
तानसेन होमस्टे समितिको सातौं साधारण सभा सम्पन्न।

पाल्पा । तानसेन होमस्टे समितिको सातौं साधारण सभा तानसेन नगरपालिका–३ का वडा अध्यक्ष बाबुरत्न शाक्यको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष धनिश्वर बस्यालको अध्यक्षतामा सम्पन्न भएको छ।सभामा संस्थाका निवर्तमान अध्यक्ष मनमोहन श्रेष्ठ, कार्यसमिति सदस्यहरू तथा आमन्त्रित पाहुनाहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा संस्थाका अध्यक्ष धनिश्वर बस्यालले संस्थाले चालु वर्षमा प्रवर्द्धनात्मक क्षेत्रमा सञ्चालन गरेका विभिन्न गतिविधिको समीक्षा गर्दै तानसेनको पर्यटन विकासका लागि आगामी योजनासहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, कोषाध्यक्ष मेघनाथ भण्डारी (कमल)ले संस्थाको आर्थिक अवस्थासहितको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुनिता श्रेष्ठले गर्नुभएको थियो।

तानसेनको पर्यटन विकासमा होमस्टेको भूमिका

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा तानसेन नगरपालिका–३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले तानसेनमा हुने पर्यटनसम्बन्धी विभिन्न कार्यक्रमहरूमा आफ्नो वडाको होमस्टे पर्यटन विकासका विषयमा जानकारी गराउन पाउँदा आफू गर्वित भएको बताउनुभयो।

उहाँले होमस्टे तथा पर्यटन क्षेत्रको विकासका लागि आगामी दिनमा आवश्यक सहयोग गर्न आफ्नो वडा सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

संस्थाका निवर्तमान अध्यक्ष मनमोहन श्रेष्ठले तानसेनमा होमस्टे पर्यटनको थप विस्तारसँगै सेवा उद्योग (Service Industry) को विकासलाई समेत प्राथमिकता दिन आवश्यक रहेको धारणा राख्नुभयो। उहाँका अनुसार पर्यटनसँग जोडिएका सेवा क्षेत्रको विस्तारले स्थानीय अर्थतन्त्र र रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउन सक्छ।

फ्रान्सेली पर्यटकको अनुभव ।

कार्यक्रममा फ्रान्सबाट तानसेनको होमस्टेमा छैटौं पटक भ्रमण गर्न आउनुभएका पर्यटक जोरोमे डेजाङ्गलोइसले तानसेनका नागरिकहरू सहयोगी, दयालु र हँसिला रहेको अनुभव सुनाउनुभयो।उहाँले तानसेनका स्थानीयवासीले पर्यटकलाई आत्मीयताका साथ स्वागत गर्ने गरेको बताउँदै यहाँको आतिथ्य सत्कार पर्यटनको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो।

निवर्तमान अध्यक्ष श्रेष्ठ सम्मानित

WhatsApp Image 2026-09-30 at 3.09.14 PM.jpegकार्यक्रममा तानसेनको पर्यटन क्षेत्रमा Get-up Palpa मार्फत पुर्‍याएको योगदान तथा तानसेन होमस्टे समितिको संस्थागत विकासमा निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै निवर्तमान अध्यक्ष मनमोहन श्रेष्ठलाई सम्मानपत्र प्रदान गरिएको थियो।

समितिले उहाँको नेतृत्व तथा योगदानलाई संस्थाको विकास यात्रामा महत्वपूर्ण रहेको उल्लेख गरेको छ।

१६ वर्षको अनुभवबाट थप परिस्कृत सेवातर्फ

कार्यक्रमको समापन गर्दै अध्यक्ष धनिश्वर बस्यालले करिब १६ वर्षदेखि तानसेन होमस्टेमा आबद्ध टिमले मर्यादित र आत्मीय शैलीमा आतिथ्यता प्रदान गर्दै आएको बताउनुभयो।

उहाँले होमस्टे सञ्चालकहरूको आतिथ्य सत्कार र सेवाका कारण तानसेनमा गुणात्मक रूपमा पर्यटक आगमन बढ्नुका साथै तानसेन–३ सहित समग्र पाल्पा जिल्लाको आर्थिक गतिविधि तथा बन्द–व्यापारमा समेत सकारात्मक प्रभाव परेको धारणा व्यक्त गर्नुभयो।

आगामी दिनमा अझ परिस्कृत र गुणस्तरीय सेवा प्रवाह गर्न आवश्यक सुझाव तथा सुधारलाई आत्मसात् गर्दै अघि बढ्ने बताउँदै अध्यक्ष बस्यालले सम्पूर्ण होमस्टे सहकर्मी तथा सञ्चालकहरूलाई धन्यवाद दिनुभयो।

सभाले तानसेनको पर्यटन तथा होमस्टे क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र पर्यटकमैत्री बनाउँदै स्थानीय अर्थतन्त्रसँग जोड्ने दिशामा आगामी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।