कृषि र पर्यटनको संगम: आशापुरी सामुदायिक होमस्टेबाट अलेँची प्रवर्द्धन अभियानको शुभारम्भ ।
सूर्यविनायक–८ आशापुरी सामुदायिक होमस्टे क्षेत्रमा बिरुवा रोपण, किसानलाई प्रोत्साहन
भक्तपुर, असार १४ – भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित आशापुरी सामुदायिक होमस्टे क्षेत्रमा अलेँची खेती प्रवर्द्धन गर्ने उद्देश्यले अलेँचीको बिरुवा वितरण तथा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम नैचाल अलेँची उत्पादक कृषक समूह, नैचाल को आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रमका विशेष अतिथि सूर्यविनायक नगरपालिका–८ का वडा अध्यक्ष पुष्पराज बस्नेत ले आशापुरी सामुदायिक होमस्टे क्षेत्रलाई कृषि, पर्यटन र स्थानीय उत्पादनको नमुना गन्तव्यका रूपमा विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा कृषि विकास कार्यालयका प्रमुखसहित विभिन्न कृषि प्राविधिक, जनप्रतिनिधि, होमस्टे महासंघका पदाधिकारी, किसान तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बागमती प्रदेश सरकारकाे स्वास्थ्य मन्त्री किरण थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उनले अलेँची खेतीलाई आयआर्जनसँगै हरित वातावरण संरक्षण र ग्रामीण पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याइन्। कृषिमा आधारित पर्यटन (Agri-tourism) ले स्थानीय समुदायको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
कार्यक्रमअन्तर्गत अतिथि तथा सहभागीहरूले आशापुरी सामुदायिक होमस्टे परिसरमा अलेँचीका बिरुवा रोपेर अभियानको औपचारिक शुभारम्भ गरेका थिए। साथै कृषकहरूलाई अलेँचीका बिरुवा वितरण गरी व्यावसायिक खेती विस्तारका लागि प्रोत्साहित गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले अलेँची खेतीले किसानको आम्दानी बढाउनुका साथै हरियाली संरक्षण, जैविक विविधता प्रवर्द्धन र होमस्टेमा आउने पर्यटकलाई स्थानीय कृषि अनुभव गराउने अवसर सिर्जना गर्ने धारणा व्यक्त गरे।आशापुरी सामुदायिक होमस्टेमा भएको यो कार्यक्रमले कृषि र पर्यटनलाई एकै सूत्रमा बाँध्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। स्थानीय उत्पादन, स्थानीय स्वाद र स्थानीय संस्कृति नै ग्रामीण पर्यटनको आधार भएकाले यस्ता अभियानले होमस्टे पर्यटनलाई थप दिगो, आकर्षक र आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। होमस्टेमा बस्ने पर्यटकले अलेँची खेती अवलोकन, बिरुवा रोपण तथा कृषि अनुभव गर्ने अवसर पाउने गरी कार्यक्रमलाई पर्यटनसँग जोड्न सके यस क्षेत्र नयाँ कृषि–पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना देखिन्छ।

