गोरखा–३ बेनीखोलाकाे मड्का होमस्टेमा तालिम उद्घाटन, ग्रामीण पर्यटन प्रवर्द्धनमा आशा
गोरखा, जेठ १० — गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन कार्यक्रम अन्तर्गत गोरखा नगरपालिका–३ बेनीखोलामा रहेको मड्का होमस्टेमा ५ दिने पाक–शिक्षा, अतिथि सत्कार तथा प्रविधि हस्तान्तरण तालिम कार्यक्रम आजबाट सुरु भएको छ।

बेनीखोला सामुदायिक मड्का होमस्टे सञ्चालक समितिको आयोजनामा सुरु भएको उक्त कार्यक्रमको उद्घाटन विशेष समारोहका बीच सम्पन्न भएको हो। कार्यक्रमको सभापतित्व मड्का सामुदायिक होमस्टेका अध्यक्ष छविलाल कुमालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गोरखा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष चुल बहादुर कुँवर सहभागी हुनुभएको थियो।

त्यसैगरी कार्यक्रममा गोरखा नगरपालिकाको सामाजिक विकास शाखाका प्रशासकिय अधिकृत विजयभक्त उपाध्याय तिवारी, सुभाष बेल्बासे, पशु शाखाका प्रमुख लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा होमस्टे महासंघका केन्द्रीय कोषाध्यक्ष सुरज बास्तोलाको समेत विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले ग्रामीण क्षेत्रमा सञ्चालन भएका होमस्टेहरूले स्थानीय समुदायको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताएका थिए। उनीहरूले यस्ता तालिमले स्थानीय परिकार, कला, संस्कृति, भाषा तथा पुराना रीतिरिवाजको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने धारणा राखे।

विशेषगरी मड्का होमस्टे क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिमले पाककला, अतिथि स्वागत, सरसफाइ, व्यवस्थापन तथा प्रविधि प्रयोग सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ।स्थानीय स्तरमै रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा गाउँको मौलिक पहिचान जोगाउन होमस्टे कार्यक्रम प्रभावकारी माध्यम बन्दै गएको सहभागीहरूको भनाइ थियो।तालिम कार्यक्रम जेठ १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।




