तनहुँको प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुर यतिबेला थप सिंगारिएको छ। ध्वजापताका, फूलमाला र जातीय पोशाकमा सजिएका युवायुवतीको उपस्थितिले ‘पहाडकी रानी’ बन्दीपुर अझ आकर्षक बनेको छ। यही उत्साहबीच शुक्रबारदेखि दुईदिने गाउँ पर्यटन मेला सुरु भएको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी, बन्दीपुर गाउँपालिका तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकीको आयोजनामा सुरु भएको मेलामा ३० वटा होमस्टे सहभागी भएका छन्। मेलामार्फत बन्दीपुर आसपासका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्दै गाउँका होमस्टेलाई सहरका बजार र पर्यटकसँग प्रत्यक्ष जोड्ने लक्ष्य लिइएको छ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशकी पर्यटनमन्त्री यशोदा रिमालले गाउँ पर्यटन मेलाले बन्दीपुर र वरपरका गाउँको पर्यटन विकासमा नयाँ ऊर्जा थप्ने बताइन्। उनले बन्दीपुर आएका पर्यटकलाई गाउँसम्म पुर्याएर स्थानीय होमस्टे, संस्कृति र जीवनशैलीसँग जोड्न यो मेला प्रभावकारी हुने उल्लेख गरिन्।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुर आसपासका आठ गाउँलाई जोडेर पर्यटन सर्किट बनाइँदै रहेको जानकारी दिए। उनका अनुसार गाउँमा पाहुना पुर्याउन सके स्थानीयको आयआर्जन बढ्नुका साथै बसाइँसराइ रोक्न समेत सहयोग पुग्नेछ।

भिटोफ गण्डकी अध्यक्ष शोभाकुमारी सापकोटाले होमस्टे ग्रामीण क्षेत्रको आर्थिक आधार बन्दै गएको बताइन्। पाहुनाको आगमनसँगै स्थानीय उत्पादनले बजार पाउने, रोजगारी बढ्ने र गाउँको समग्र अर्थतन्त्र चलायमान हुने उनले बताइन्।
मेलामा होमस्टे स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटन प्याकेज प्रदर्शनी तथा व्यवसायिक नेटवर्किङ कार्यक्रमसमेत सञ्चालन हुने आयोजकले जनाएको छ।




