नेपाल सरकारले देशलाई विश्व आध्यात्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित “देवभूमि नेपाल” राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनलाई समेट्दै नेपाललाई बहुआयामिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने नीति अघि सारिएको हो।

सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ मन्दिर, लुम्बिनी, जनकपुरधाम तथा मुक्तिनाथ मन्दिर क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्राथमिकता दिने जनाएको छ। यस अभियानले नेपाललाई केवल धार्मिक गन्तव्य मात्र नभई शान्ति, योग, ध्यान र आध्यात्मिक अनुभूतिको विश्वव्यापी केन्द्रका रूपमा चिनाउने अपेक्षा गरिएको छ।

यसैबीच समुदायमा आधारित पर्यटनलाई सशक्त बनाउन समुदायद्वारा सञ्चालित होमस्टे, स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्ने नीति लिइएको छ। विशेषगरी सीमान्तकृत तथा दलित समुदायको आयआर्जन र रोजगारी वृद्धि गर्ने उद्देश्यसहित होमस्टे कार्यक्रम विस्तार गरिने भएको हो।
सरकारले “जीवन्त सङ्ग्रहालय” अवधारणालाई कार्यान्वयन गर्दै देशभर कम्तीमा पाँच हजार नयाँ होमस्टेलाई “नेपाल होमस्टे” ब्रान्डिङसहित बुकिङ प्लेटफर्ममा आबद्ध गराउने लक्ष्य सार्वजनिक गरेको छ। यस कदमले ग्रामीण पर्यटन, मौलिक संस्कृति, रैथाने खानपान तथा स्थानीय जीवनशैलीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

पर्यटन व्यवसायीहरूले सरकारको यो घोषणाले गाउँ पर्यटन, ग्रामीण अर्थतन्त्र र स्थानीय उत्पादनको प्रवर्द्धनमा नयाँ सम्भावना सिर्जना गर्ने बताएका छन्। विशेषगरी HomestayKhabar.com जस्ता ग्रामीण पर्यटन केन्द्रित प्लेटफर्ममार्फत नेपालको मौलिक होमस्टे संस्कृति विश्व बजारमा पुर्याउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।




